साफ यु-२० च्याम्पियनसिप

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

शुक्रबार, चैत १३, २०८२
Global

काठमाडौँ:नेपाल माल्दिभ्समा जारी साफ यु-२० च्याम्पियनसिप फुटबलको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्सलाई बराबरीमा रोक्दै नेपाल अन्तिम चारमा पुग्न सफल भएको हो।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल र माल्दिभ्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको १५औँ मिनेटमा कप्तान मोहम्मद इमरानले गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको नेपालले खेलको अन्त्यतिर मात्र कमब्याक गर्न सफल भयो।

निर्धारित समय सकिन ३ मिनेट बाँकी छँदा निशानराज लावतले गोल गर्दै नेपाललाई हारबाट जोगाए। सुवास बमको फ्रिकिकलाई सदुपयोग गर्दै निशानले गोल गरेका हुन्।

यो बराबरीसँगै नेपाल ३ खेलबाट ७ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहन सफल भयो। यसअघि नेपालले भुटान र श्रीलंकालाई पराजित गरेको थियो। यता घरेलु टोली माल्दिभ्स भने ३ खेलबाट मात्र २ अंक जोड्दै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्