सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आगामी आईपीएल २०२६ का लागि १० वटै टोलीहरूलाई लक्षित गर्दै नयाँ र कडा नियमहरू सार्वजनिक गरेको छ। प्रतियोगितामा अनुशासन कायम राख्न, टोलीको वातावरण सुधार्न र खेल मैदानको गुणस्तर जोगाउन यी नियमहरू ल्याइएको बोर्डले जनाएको छ। यस पटक खेलाडीका साथै उनीहरूका परिवार र साथीभाइका लागि पनि स्पष्ट निर्देशिका बनाइएको छ।
नयाँ नियमअनुसार अब सबै खेलाडीले अभ्यास सत्र र खेलका लागि अनिवार्य रूपमा टोलीको बसमै यात्रा गर्नुपर्नेछ। यसअघि कतिपय खेलाडीहरू, विशेष गरी आफ्नै शहरमा खेल हुँदा निजी गाडीमा रङ्गशाला पुग्ने गर्दथे, तर अब त्यसो गर्न पाइने छैन। यसले टोलीमा एकता कायम राख्ने र सबैका लागि समान नियम लागू हुने बीसीसीआईको विश्वास छ।
त्यसैगरी, खेलाडीका परिवार र साथीभाइलाई टोलीको बसमा यात्रा गर्न निषेध गरिएको छ। उनीहरूले छुट्टै सवारी साधन प्रयोग गरेर मात्र रङ्गशाला वा अभ्यासस्थल पुग्नुपर्नेछ। परिवारका सदस्य र साथीहरूलाई ड्रेसिङ कोठामा प्रवेश गर्न पनि पूर्ण रोक लगाइएको छ। यो नियम अभ्यासको दिनमा पनि लागू हुनेछ। यदि परिवारका सदस्यले अभ्यास हेर्न चाहेमा उनीहरूले तोकिएको हस्पिटालिटी क्षेत्रबाट मात्र हेर्न पाउनेछन्।
बीसीसीआईले खेल हुने दिन मैदानमा अभ्यास सत्र सञ्चालन गर्न पनि रोक लगाएको छ। यसका साथै पिचको मुख्य भाग वरपर कुनै पनि प्रकारको शारीरिक कसरत वा फिटनेस परीक्षण गर्न पाइने छैन। यसो गर्दा पिचमा क्षति पुग्न सक्ने बोर्डको ठहर छ।
यस पटक ओरेन्ज क्याप र पर्पल क्यापको दौडमा अगाडि रहेका खेलाडीहरूका लागि पनि नयाँ नियम ल्याइएको छ। त्यस्ता खेलाडीले खेलको समयमा अनिवार्य रूपमा उक्त टोपी लगाउनुपर्नेछ। यदि कुनै खेलाडीले पूरै समय टोपी लगाउन नचाहेमा पनि खेलको सुरुवाती दुई ओभरसम्म अनिवार्य लगाउनुपर्नेछ, ताकि प्रसारण टोलीले प्रशंसकहरूलाई देखाउन सकोस्।
खेलपछिको पुरस्कार वितरण समारोहका लागि पनि बीसीसीआईले विशेष पोसाक नियम तय गरेको छ। अब खेलाडीहरूले बाउला नभएको जर्सी वा विशेष प्रकारको फ्लपी ह्याट लगाएर समारोहमा उपस्थित हुन पाउने छैनन्। पहिलो पटक नियम उल्लङ्घन गर्ने खेलाडीलाई चेतावनी दिइनेछ भने पटक-पटक नियम तोडेमा जरिवानासमेत गरिनेछ।