सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँः नेपाल र हङकङबीच चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको विषयले नयाँ मोड लिएको छ। खेल रोकिनुको दोष आफूमाथि थोपरिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फाप्रति निकै आक्रामक रूपमा स्पष्टीकरण दिएको छ। यसअघि एन्फाले राखेपले अनुमति नदिएका कारण खेल स्थगित गर्नुपरेको भन्दै विज्ञप्ति जारी गरेको थियो। तर, राखेपले उक्त दाबीलाई भ्रामक र झुटो भन्दै खण्डन गरेको हो। राखेपका सूचना अधिकारी खुसराज दाहालले एक विज्ञप्ति जारी गर्दै खेलका लागि आवश्यक सबै पूर्वाधारहरु रंगशाला, फ्लडलाईट, स्कोरबोर्ड प्रयोग गर्न एन्फालाई पहिल्यै अनुमति दिइसकेको स्पष्ट पारेका छन्। राखेपले एन्फामाथि जिम्मेवारीबाट पन्छिने खेल खेलेको र भ्रमपुर्ण प्रचार गरेकोजस्ता गम्भीर आरोपपनि लागाएको छ । आफूले गर्नुपर्ने काम नगर्ने र आफ्नो कमजोरी लुकाउन राखेपलाई ढाल बनाउने प्रयास बन्द गर्न राखेपको चेतावनी छ ।
संघसंस्था समन्वय शाखा र सामान्य प्रशासन शाखाबाट औपचारिक पत्रमार्फत नै खेलका लागि स्वीकृति दिइएको दाहालको भनाइ छ। एन्फाको विज्ञप्तिले खेल क्षेत्रमा भ्रम फैलाएको भन्दै राखेपले सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरेको छ। "आफ्नो अक्षमता लुकाउन राष्ट्रिय खेलकुद परिषद्लाई भ्रमपूर्ण आरोप लगाउने काम निन्दनीय छ। एन्फाले आफ्नो कमजोरीको भारी राखेपको थाप्लोमा हाल्न खोज्नु खेलकुदको विकासका लागि घातक छ," विज्ञप्तिमा उल्लेख छ।