T10 T10

 पतनको बाटोमा नेपाली फुटबल

एन्फा र राखेपको जुहारीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नै रद्ध
आइतबार, चैत ८, २०८२
Global

काठमाडौँ :अखिल नेपाल फुटबल सङ्घ एन्फा भित्रको चरम लुछाचुँडी र कुर्सी मोहका कारण चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध भएको छ।
एन्फाले राखेपलाई र राखेपले एन्फालाई औँला देखाउँदै गर्दा एउटा नमीठो सत्य बाहिर आएको छ— हाम्रा पदाधिकारीका लागि देशको झन्डाभन्दा ठुलो आफ्नो ओहोदा भएको छ।

दशरथ रङ्गशाला, जहाँ नेपाली समर्थकको मुटु धड्किन्छ, आज त्यही मैदान पदाधिकारीहरूको जुहारीका कारण रित्तो हुने भएको छ। 
लाओसविरुद्धको एएफसी एसियन कप छनोटको तयारी गर्नुपर्ने समयमा राष्ट्रिय टोलीलाई खेलबाट बञ्चित गराउनु नेपाली फुटबललाई पतनको बाटो तर्फ धकेल्ने सुनियोजित षड्यन्त्र बाहेक केही नदेखिएको चर्चा चुलिएको छ । 
एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङको गृह जिल्ला झापामा चैत १३ गतेका लागि तय गरिएको निर्वाचन अहिले विवादको मुख्य जड बनेको छ। विधिको शासनलाई लत्याउँदै, तल्लो तहहरु जिल्ला, क्लब र प्रदेश को निर्वाचन नगरी सिधै केन्द्रको सत्ता कब्जा गर्ने दाउपेचले फुटबललाई संस्थागत रूपमै ध्वस्त पार्दै छ।
फागुन २८ देखि सुरु भएको यो किचलोले आज नेपाली फुटबललाई अन्तर्राष्ट्रिय जगतमा हाँसोको पात्र बनाएको छ। एकातिर अधिकांश क्लब र प्रदेश पदाधिकारीहरू विधिको माग गर्दै आन्दोलित छन् भने अर्कोतिर नेतृत्व जसरी पनि कुर्सी जोगाउने खेलमा लिप्त छ।
एन्फा भवनको कोठाभित्र बसेर गरिने षड्यन्त्रले आज दशरथ रङ्गशालाको लाइट निभेको छ, स्कोरबोर्ड ओइलाएको छ र नेपाली फुटबलको साख रसातलमा पुगेको छ।

यदि यसरी नै व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय खेललाई बलि चढाउने क्रम जारी रह्यो भने, नेपालले फिफाको प्रतिबन्ध मात्र होइन, आम समर्थकको विश्वास पनि सदाका लागि गुमाउनेछ। फुटबल ब्युँताउने हो भने अब मैदानमा खेलाडीको गोल होइन, एन्फाभित्र स्वार्थको गोल गर्नेहरूको बहिर्गमन अनिवार्य देखिएको छ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्