प्रधानमन्त्री कप

मधेश प्रदेश र सुदूरपश्चिमको सानदार जित; लुम्बिनी र कोशी पराजित

शुक्रबार, चैत १३, २०८२
Global

काठमाडौं :प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज भएका खेलहरूमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सानदार जित हात पारेका छन्।

जनकपुरमा भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ। पहिले ब्याटिङ गर्दै १२४ रनको सामान्य योगफल तयार पारेको मधेशका लागि बलर विशाल पटेल नायक बने। विशालले ९ ओभरमा मात्र २४ रन खर्चेर ५ विकेट लिएपछि लुम्बिनी ९९ रनमै समेटिएको हो। लुम्बिनीका सुमित श्रेष्ठले ३० रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

त्यस्तै, वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले सहजै पराजित गरेको छ। कोशीले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले मात्र १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा खड्क बोहोराले आक्रामक अर्धशतकीय पारी खेल्दै ४५ बलमा ५५ रन जोडे।

यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश ४३ ओभर ४ बलमा १३० रनमा अलआउट भएको थियो। कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए। यो जितसँगै सुदूरपश्चिमले पनि प्रतियोगितामा आफ्नो दोस्रो जित सुनिश्चित गरेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्