T10 T10

इतिहासकै ठूलो हारपछि दबाबमा भारत, सेमिफाइनलका लागि बाँकी दुवै खेल जित्नै पर्ने

आइतबार, फागुन १०, २०८२
Global

काठमाडौँ :उपाधि दाबेदार भारतले टी–२० विश्वकपको इतिहासमै सबैभन्दा ठूलो हार व्यहोरेको छ। आइतबार तेस्रो सुपर–८ खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गर्‍यो। यससँगै प्रतियोगितामा भारतको लगातार जितको सिलसिला पनि टुटेको छ। यसअघि भारतले लगातार १२ खेल जितेको थियो।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेकाे दक्षिण अफ्रिकाले  २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनायो। जवाफमा भारत १८.५ ओभरमा १११ रनमै अलआउट भयो।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले ४ विकेट लिए भने केशव महाराजले ३ विकेट झट्काए। कर्बिन बशले २ र एडन मार्करमले १ विकेट लिए। भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाए।

यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलरले ३५ बलमा ६३ रनको शानदार पारी खेले। डेवाल्ड ब्रेविसले ४५ रन बनाए भने ट्रिस्टन स्टब्सले २४ बलमा अविजित ४४ रन जोडे। भारतका जसप्रित बुमराहले ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिए।

डेभिड मिलर ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ब्रेविससँग मिलेर ५० बलमा ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।इतिहासकै ठूलो हारपछि भारत दबाबमा परेकाे छ । सेमिफाइनल पुग्न भारतले बाँकी दुवै खेल जित्नुपर्नेछ ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २३:३३
प्रतिक्रिया दिनुहोस्