T10 T10

लागुऔषधलाई क्लिन बोल्ड गर्न जनकपुरमा विशेष क्रिकेट म्याच

शुक्रबार, फागुन ८, २०८२
Global

जनकपुरधाम :राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता र धनुषा क्षेत्र नं ३ का उम्मेदवार मनिष झाको पहलमा आज (शुक्रबार) जनकपुरधाममा विशेष क्रिकेट म्याच आयोजना हुँदैछ । “एक क्रिकेट म्याच परिवर्तनको लागि” र “लागुऔषधलाई क्लिन बोल्ड गरौँ” भन्ने नारासहित धनुषा क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झाको प्लेइंग एलेभेन टोलीले राष्ट्रिय टिमका सदस्य ज्ञानेन्द्र मल्लको प्लेइंग एलेभेन टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
दुवै टोलीबीचको प्रतिस्पर्धा आज दिउँसो ३ बजे जनकपुरधामको बारहविघा मैदानमा हुने रास्वपाका युथ प्रभारी किशन साहले जानकारी दिएका छन् । उनका अनुसार खेलकुदमार्फत सकारात्मक सन्देश प्रवाह गर्दै युवाहरूलाई लागुऔषध दुव्र्यसनबाट टाढा राख्ने र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको छ ।
भारतमा जारी अन्तर्राष्ट्रिय टी–२० विश्वकपलाई मध्यनजर गर्दै नेपाली राष्ट्रिय टिमलाई थप हौसला प्रदान गर्नुका साथै युवाहरूमा क्रिकेटप्रति उत्साह अभिवृद्धि गर्ने लक्ष्य समेत कार्यक्रमको रहेको साहले बताए । आयोजक पक्षले खेललाई सामाजिक सचेतना र सकारात्मक परिवर्तनको अभियानसँग जोडिएको बताउँदै स्थानीय खेलप्रेमी तथा युवाहरूलाई मैदानमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्