सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
कोलम्बो :काठमाडौँ टी-२० विश्वकप २०२६ मा जिम्बाब्वेले अर्को ठूलो उलटफेर गरेको छ।
समूह चरणको एक रोमाञ्चक खेलमा जिम्बाब्वेले श्रीलंकालाई उसकै घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै शानदार जीत हासिल गरेको हो। अष्ट्रेलियालाई हराइसकेको जिम्बाब्वेले यो जीतसँगै आफ्नो सेमिफाइनल यात्रालाई बलियो बनाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १७८ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। श्रीलंकाका लागि ओपनर पाथुम निसंकाले अर्धशतकीय पारी खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए।
१७९ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वेको सुरुवात सुस्त तर सुरक्षित रह्यो। ओपनर ब्रायन बेनेट र ताडिवानाशे मरुमानीले ६९ रनको साझेदारी गर्दै बलियो आधार तय गरे। पहिलो १० ओभरमा टोलीले ७८ रन मात्र बनाए पनि विकेट सुरक्षित राखेकाले रन–रेट बढाउने अवसर बाँकी थियो।
खेलको निर्णायक मोड १२औँ ओभरमा आयो, जब कप्तान सिकन्दर राजा ब्याटिङमा आए। सुरुमा केही बढी बल खाएर ६ रन मात्र बनाएका राजाले त्यसपछि आक्रामक रूप लिँदै मात्र १६ बलमा ३९ रन प्रहार गरे। राजाले २५ बलमा ४५ रनको विस्फोटक पारी खेलेपछि खेल जिम्बाब्वेको पक्षमा ढल्किएको थियो।
अर्को तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहेका ब्रायन बेनेटले ६३ रनको नटआउट पारी खेल्दै ३ बल बाँकी छँदै टोलीलाई जीत दिलाए। यो जीतसँगै जिम्बाब्वे समूह बी को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। यो जिम्बाब्वेको अन्तर्राष्ट्रिय टी-२० इतिहासमा दोस्रो सबैभन्दा ठूलो सफल रन चेज पनि हो ।