सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
मुम्बई :नेपाली क्रिकेट टोलीको पछिल्लो निराशाजनक प्रदर्शनपछि कमेन्टेटर एन्ड्रीउ लियोनार्ड भक्कानिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले एक तस्वीर सहितको स्टाटस लेख्दै समर्थकहरूको यात्रा र लगावको प्रशंसा गर्दै उनीहरू प्रति सम्मान व्यक्त गरेका छन् । नेपालले लगातार तीन खेलमा हार भोगेपछि निराश भएर फर्कँदै गरेका नेपाली समर्थकहरूको समूह देख्दा आफू भावुक भएको उल्लेख गरेका छन् ।
लियोनार्डले टसको भूमिकाले पनि खेलमा केहि असर पर्ने भन्दै वेस्ट इन्डिजविरुद्धको खेल त्यसैका कारण कठिन बनेको औंल्याएका छन्। तर, पछिल्ला दुई खेलमा नेपालले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न नसकेकोमा उनले अनस्तुष्टि पोखेका छन् ।विशेषगरी इटालीविरुद्धको खेल कमजोर रहेको उनको बुझाई छ । तर इंग्ल्याण्ड विरुद्ध गरेको प्रदर्शन भने अविश्वसनीय रहेको उनले लेखेका छन् ।
ब्याटिङमा निरन्तरताको अभाव रहेको भन्दै उनले दीपेन्द्र सिंह ऐरीको अर्धशतक उत्कृष्ट भए पनि तीन विश्वकप अभियानमा त्यो मात्र नेपालको दोस्रो व्यक्तिगत अर्धशतक भएको तथ्य औंल्याएका छन्। बलिङमा दबाब सिर्जना गर्नुभन्दा विकेट लिने हतारले नेपाल महँगो परेको र फिल्डिङ पनि कमजोर रहेको उनले बताएका छन् । बजेट र अवसरको अभावका बाबजुद ९ वटै एसोसिएट टिमले देखाएको प्रतिस्पर्धाप्रति उनले गर्व व्यक्त गरेका छन्। यी टोलीहरू ठूला उलटफेरको नजिक पुगेर चुकेको भन्दै उनले अहिले एसोसिएट क्रिकेटप्रति विश्वभर सकारात्मक धारणा बढेको र भविष्य उज्ज्वल रहेको बताएका छन्। अन्त्यमा, उनले नेपाल र स्कटल्यान्डबीचको आगामी खेलका लागि शुभकामना दिएका छन्। विश्वकपमा उच्च मनोबलका साथ प्रतियोगिताको अन्त्य गर्ने अवसर दुवै टोलीलाई रहेको भन्दै उनले समर्थकहरूलाई परिणाम जे भए पनि टोलीलाई माया र समर्थन गरिरहन अपिल गरेका छन् ।