T10 T10

श्रीलंकामा आज पनि वर्षाको सम्भावना :इंल्याण्ड र श्रीलंकाको खेल रद्ध हुने सम्भावना

आइतबार, फागुन १०, २०८२
Global

काठमाडौँ:आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ चरणअन्तर्गत आज श्रीलंका र इंग्ल्यान्डबीच खेल हुने तालिका रहेको छ। यो खेल क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:१५बजे सुरु हुने छ। तर मौसमले खेल प्रभावित पार्ने उच्च सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान अनुसार खेल सुरु हुने समयतिर करिब ७४ प्रतिशत वर्षाको सम्भावना रहेको छ भने टस हुने समय २:४५ बजे पनि वर्षाको सम्भावना करिब ६५ प्रतिशत रहेको बताइएको छ। साँझसम्म पनि लगातार वर्षा हुने अनुमान गरिएको छ, जसका कारण खेल प्रभावित हुन सक्ने देखिन्छ।

यसअघि सुपर–८ को पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। यदि आजको श्रीलंका–इंग्ल्यान्ड खेल पनि रद्द भएमा दुवै टोलीले १–१ अंक बाँड्नेछन्। त्यस अवस्थामा समूहका चारै टोलीको समान १–१ अंक हुने छ।

सुपर–८ चरणमा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने अन्य टोली बाहिरिनेछन्। 

सुपर–८ चरणअन्तर्गत आजको दोस्रो खेलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। समूह–१ को यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियम मा साँझ ७:१५ बजे सुरु हुनेछ। टस भने ६:४५ बजे हुने छ।

लिग चरणमा दक्षिण अफ्रिकाले यस मैदानमा खेलेका दुवै खेल जितेको थियो। भारतले भने यस संस्करणमा यहाँ खेलेको एक मात्र खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

दुवै टोली यस प्रतियोगितामा अहिलेसम्म अपराजित छन्। त्यसैले आजको खेलमा कुनै एक टोलीले पहिलो हार बेहोर्नेछ भने अर्को टोलीले लगातार पाँचौँ जित दर्ता गर्नेछ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्