T10 T10

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सकाे पहिलो जित

मंगलबार, माघ २७, २०८२
Global

काठमाडौं:आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले पहिलो जित दर्ता गरेको छ। मंगलबार नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा भएको खेलमा नामिबियालाई सात विकेटले पराजित गर्दै डच टोलीले प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमै तीन विकेटको क्षतिमा पूरा गर्‍यो। नेदरल्यान्ड्सको जितमा बास डे लिडे नायक बने। उनले ४८ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ७२ रन जोडे। कोलिन अकरमनले ३२, माइकल लेभिटले २८ तथा कप्तान स्कट एड्वार्ड्सले १८ रन बनाए।

नामिबियाका बर्नार्ड स्कल्ज, रुबेन ट्रम्पेलमन र जान निकोल लोफ्टी इटोनले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। जान निकोल लोफ्टी इटोनले ४२ रन बनाए भने जान फ्राइलिन्कले ३० रनको योगदान दिए। जेजे स्मिथले २२ र कप्तान गेरहार्ड इरास्मसले १८ रन जोडे।

नेदरल्यान्ड्सका लोगन भान विक र बास डे लिडेले समान दुई विकेट लिए भने आर्यन दत्त र फ्रेड क्लासेनले एक–एक विकेट हात पारे।

समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सको यो दोस्रो खेल हो। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको डच टोलीले यस जितसँगै अंक तालिकामा महत्वपूर्ण दुई अंक जोडेको छ। नामिबियाको भने प्रतियोगितामा यो पहिलो खेल हो।

net-win-1770713533.jpg


 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्