टी–२० विश्वकप :पाकिस्तानले नेदरल्याण्डस्लाई हरायो

शनिबार, माघ २४, २०८२
Global

काठमाडौँ :टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले सनसनीपूर्ण जित दर्ता गरेको छ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ३ विकेटले पराजित गरेको हो।

जितका लागि १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३ बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अन्तिम दुई ओभरमा २९ रन आवश्यक परेको अवस्थामा पाकिस्तानले १९औँ ओभरमै २४ रन जोड्दै खेल आफ्नो पक्षमा पारेको थियो।

यसअघि कोलम्बोमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले एक बल बाँकी छँदै अलआउट हुँदै १४७ रन बनाएको थियो। कप्तान स्कट एड्वार्डसले ३७ तथा बास डे लिडेले ३० रन बनाए। पाकिस्तानका सल्मान मिर्जाले ३ विकेट लिए भने मोहम्मद नवाज, अब्रार अहमद र सइम अयुबले समान २–२ विकेट लिए।

पाकिस्तानका लागि फहिम अशरफले अविजित २९ रन बनाउँदै टोलीलाई जित दिलाए। सहिबजादा फर्हानले ४७ तथा सइम अयुबले २४ रन जोडे।

आजको दोस्रो खेलमा स्कटल्याण्ड र वेष्ट इन्डिज भारतको इडेन गार्डेनमा प्रतिस्पर्धा गर्दैछन्। तेस्रो खेलमा भारत र अमेरिका मुम्बईको वाङ्खेडे मैदानमा बेलुकी ७:१५ बजे भिड्ने छन्।

नेपालले आफ्नो पहिलो खेल आइतबार इङ्गल्याण्डसँग खेल्नेछ। नेपाल समूह ‘सी’ मा रहेको छ। यस समूहमा इङ्गल्याण्ड, इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन्।

समूह ‘ए’ मा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया छन्।
समूह ‘बी’ मा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे छन्।
समूह ‘डी’ मा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन्।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्