T10 T10
टी–२० विश्वकप वार्म अप

आशिफको अर्धशतकमा क्यानाडाविरुद्ध सहज जित 

बिहीबार, माघ २२, २०८२
Global

काठमाडौं :आशिफ शेख र सन्दीप जोराले बिस्फोटक ब्याटिङ गरेपछि क्यानडाबिरुद्ध नेपालले सहज जित निकालेको छ ।

बिहिवार भएको टी–२० विश्वकपको वार्म अप खेलमा नेपालले क्यानाडा बिरुद्ध ६ विकेटको सहज जित निकालेको हो ।क्यानाडाले दिएको १६२ रनको मध्यम लक्ष्य नेपालले २ ओभर बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आशिफ शेखले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ५८ रन जोडे । २९ बल खेलको उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

सन्दीप जोराले ४४ रन बनाउँदा गुल्शन झाले ३१ तथा दिपेन्द्र सिं ऐरीले ९ रन बनाए । कुशल भुर्तेलले १२ तथा लोकश बमले ५ रन जोडे । त्यसअघि भारतको चेन्नईस्थित ऐतिहासिक एमए चिदम्बरम स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानाडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको थियो ।
क्यानाडाका लागि प्रारम्भिक ब्याटरहरूले मध्यम सुरुवात गरे पनि अन्तिम ओभरहरूमा नेपाली बलरमाथि दबाब बढाएका थिए। 
नवनित धलिवालले टोलीका लागि सर्वाधिक ४१ रनको योगदान दिए। श्रेयस मोव्वा १९ बलमा ३८ रन जोड्दै अविजित रहे। उनले १८औँ ओभरमा २ छक्का र १ चौका प्रहार गर्दै क्यानाडाको स्कोर उकासेका थिए। अन्य ब्याटरहरु कन्वरपाल ताथगुरले २५ रन जोडे भने जास्करन सिंहले मात्र ११ बलमा ३ छक्कासहित विष्फोटक २१ रन बनाए।
चेन्नईको स्पिनमैत्री पिचमा नेपाली स्पिनरहरू हाबी देखिए। सन्दीप लामिछानेले अत्यन्तै किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए। कुशल भुर्तेल बलिङमा पनि आफ्नो जादु देखाउँदै ३ ओभरमा २६ रन खर्चेर २ विकेट चट्काए। अनुभवी बलर सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट लिए । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । 
विश्वकपको समुह सी मा रहेको नेपालले आगामी आइतबार इङ्ल्यान्डविरुद्ध खेल्दै आफ्नो ऐतिहासिक विश्वकप यात्राको सुरुवात गर्दैछ ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्