T10 T10

टी-२० विश्वकप: नेपालको शक्ति-परीक्षण!

नेपाल पूर्व क्रिकेटर आकाशलाई मनपर्ने दोस्रो टोली
बिहीबार, माघ २२, २०८२
Global

काठमाडौं:- विश्वका चर्चित क्रिकेट विश्लेषक तथा भारतीय पूर्व क्रिकेटर आकाश चोपडाले आगामी टी-२० विश्वकपमा नेपालको यात्रा रोचक तर चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपको १०औँ संस्करणमा नेपालले वानखेडे स्टेडियमको रातो माटोको पिचमा खेल्नुपर्ने विषयलाई उनले विशेष चर्चामा ल्याएका हुन्।
आफ्नो सामाजिक सञ्जालमार्फत विश्लेषण गर्दै चोपडाले नेपाललाई आफ्नो दोस्रो मनपर्ने टोली बताए पनि प्राविधिक रूपमा नेपालका लागि केही कठिन हुने संकेत गरेका छन्।

"नेपालको टोलीमा धेरै अलराउन्डरहरू हुनु उनीहरूको ठूलो शक्ति हो। तर मुम्बईको वानखेडे स्टेडियममा हुने खेलहरूमा नेपाली ब्याटर र बलर दुवैलाई गाह्रो हुन सक्छ," चोपडाले भनेका छन्, "त्यहाँको रातो माटोको पिचले दिने 'एक्स्ट्रा बाउन्स'नेपाली खेलाडीका लागि समस्याको विषय बन्न सक्छ।"

उनले नेपालसँग ठूला टिमसँग खेलेको अनुभव कम भएको उल्लेख गर्दै बंगलादेशको अनुपस्थितिले भने नेपाललाई राहत मिल्ने र समूहमा कुनै उलटफेर ल्याउन सक्ने सम्भावना रहेको बताए।
यसपटक नेपाल निकै कठिन मानिएको समूह 'सी' मा रहेको छ। यो समूहमा दुई पूर्व विश्वविजेता टोलीहरू इंग्ल्यान्ड र वेस्ट इन्डिज रहेका छन्। सुरक्षा कारणले बंगलादेशले नखेल्ने भएपछि आईसीसीले स्कटल्यान्डलाई यो समूहमा समावेश गरेको छ। नेपालले ८ फेब्रुअरीमा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको उद्घाटन गर्नेछ।

इंग्ल्यान्डविरुद्धको पहिलो खेलका लागि चोपडाले आफ्नो रोजाइको प्लेइङ ११ पनि सार्वजनिक गरेका छन्। जसमा रोहित पौडेलको कप्तानीमा अनुभवी र आक्रामक खेलाडीहरूको सन्तुलन देखिन्छ।
उनको अनुमान अनुसार टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, लोकेश बम, आरिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र गुल्शनकुमार झा मैदानमा उत्रिनेछन् ।

लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपालले यसअघि सन् २०१४ र २०२४ मा समूह चरण पार गर्न सकेको थिएन। तर यसपटक २० टोलीको सहभागिता र नयाँ समीकरणले नेपाललाई सुपर ८ मा पुग्ने आशा जगाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्