मुम्बईमा कप्तान रोहितको 'पावर' शो !

बुधबार, माघ २१, २०८२

काठमाडौं :विश्व क्रिकेटको सबैभन्दा ठुलो उत्सव टी-२० विश्वकपको रापले खेलप्रेमीलाई छुन थालिसकेको छ।

फेब्रुअरी ७ बाट मैदानमा ब्याट र बलको घमासान सुरु हुनुअघि, भोलि फेब्रुअरी ५ आईसीसीले विश्वका २० टोलीका कप्तानहरूलाई दुई सहरमा उतार्दै छ।
यस महासंग्रामको उद्घोष हुने ‘क्याप्टेन्स डे’ मा नेपाली टोलीका कप्तान रोहित पौडेलले मुम्बईको ऐतिहासिक मैदानबाट विश्वलाई सम्बोधन गर्नेछन्। 
मुम्बईस्थित बीसीसीआईको मुख्यालय र वानखेडे स्टेडियममा हुने विशेष समारोहमा नेपालका रोहित पौडेलले भारत, इंग्ल्याण्ड र न्युजिल्यान्ड जस्ता क्रिकेटका पावरहाउस कप्तानहरूसँग एउटै टेबलमा बसेर आफ्नो रणनीति सुनाउनेछन्।
नेपालसहित भारत, अफगानिस्तान, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, न्युजिल्यान्ड, क्यानडा, इटाली, नामिबिया, स्कटल्याण्ड र अमेरिकाका १२ कप्तानहरू मुम्बईमा मिडियाको सामना गर्नेछन्।
मुम्बइमा पहिलो समुहको कन्फ्रेन्स दिउँसो सवा ३ बजे र दोस्रो समुहको पौने ४ बजे हुनेछ । 
मुम्बईमा मात्र होइन, भोलि नै श्रीलंकाको कोलम्बोमा पनि अर्को क्याप्टेन्स डे आयोजना हुँदै छ। त्यहाँ आयोजक श्रीलंकासहित अष्ट्रेलिया, पाकिस्तान र पाकिस्तान जस्ता ८ देशका कप्तानहरूले आफ्नो तयारीबारे जानकारी दिनेछन्। 
कोलम्बोमा पहिलो समुह दिउँसो सवा १२ बजे र दोस्रो समुह पौने १ बजे सञ्चारकर्मीमाझ आउनेछन् । यसपटक नेपाल समूह 'सी' मा परेको छ, जहाँ उसले विश्व विजेता बनिसकेका इंग्ल्याण्ड र वेस्ट इन्डिज जस्ता टोलीसँग भिड्नु पर्नेछ। यो समूहमा इटाली र स्कटल्याण्ड पनि रहेका छन्।

नेपाली क्रिकेटका लागि यो विश्वकप मात्र होइन, विश्व मञ्चमा आफ्नो अस्तित्व प्रमाणित गर्ने सुनौलो मौका पनि हो। मुम्बईको वानखेडेबाट रोहित पौडेलले दिने सन्देशले भोलि नै नेपाली टोलीको आत्मविश्वास झल्काउनेछ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्