सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :सन् २०१४ को गर्विलो इतिहास र २०२४ को एक रनको घाउलाई छातीमा सजाउँदै, नेपाली क्रिकेट अब विश्वकपको तेस्रो 'इनिङ'मा क्रिकेटका महाशक्तिहरूलाई चुनौती दिन तयार भएको छ। नेपाली क्रिकेटको आकाशमा फेरि एकपटक विश्वकपको उत्साह छाएको छ। सन् २०१४ को ऐतिहासिक डेब्यु र २०२४ को नमीठो हारलाई आत्मसात् गर्दै नेपाली टोली आगामी माघ २५ गतेबाट सुरु हुने १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपका लागि तयार भएको छ।
नेपाली क्रिकेटको इतिहास पल्टाउँदा सन् २०१४ को बंगलादेश विश्वकप सबैभन्दा गर्विलो अध्याय हो। पारस खड्काको नेतृत्वमा रहेको उक्त टोलीले हङकङ र अफगानिस्तान जस्ता टोलीलाई पाखा लगाउँदै डेब्युमै विश्वलाई चकित पारेको थियो। तीनमध्ये दुई खेल जितेर पनि रनरेटका कारण दोस्रो चरण पुग्न नसक्नु अभागी सावित भए पनि, त्यो सहभागिताले नेपाललाई विश्व क्रिकेटको मानचित्रमा एउटा शक्तिशाली उदीयमान राष्ट्रका रूपमा उभ्याएको थियो। ठ्याक्कै १० वर्षको अन्तरालपछि अमेरिका र वेस्ट इन्डिज पुगेको रोहितकुमार पौडेलको टोलीका लागि सन् २०२४ को विश्वकप भने मिश्रित अनुभवको दस्तावेज बन्यो। दक्षिण अफ्रिका जस्तो बलियो टोलीलाई पराजित गर्ने संघारमा पुगेर पनि मात्र १ रनको हार बेहोर्नु नेपाली क्रिकेट इतिहासकै सबैभन्दा पीडादायी क्षण रह्यो। दक्षिण अफ्रिका र बंगलादेशसँगका ती साघुरो हारहरूले नेपाली समर्थकको मन मात्रै फुटाएन, ठूला खेलहरूमा फिनिसिङ गर्नुपर्ने टड्कारो आवश्यकतालाई पनि छर्लङ्ग पारिदियो। लगातार दोस्रो पटक विश्वकपमा छनोट भएर नेपालले आफ्नो स्तर प्रमाणित गरिसकेको छ। माघ २५ मा इंग्ल्यान्डविरुद्ध हुने खेल केवल एउटा खेल मात्र नभई, नेपाली क्रिकेटले दशकौँदेखि देखेको ठूला राष्ट्रलाई हराउने सपनाको परीक्षण पनि हो।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने यस महाकुम्भमा नेपालले तेस्रो पटक विश्वमञ्चमा आफ्नो उपस्थिति जनाउँदै छ। तर, यसपटकको बाटो सहज छैन । समूह ‘सी’ मा रहेको नेपालले साविक विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजजस्ता क्रिकेटका बलिया हस्तीहरूसँग भिड्नुपर्नेछ। दशक लामो प्रतीक्षा, डेब्युको उत्साह र एक रनको नमीठो चोटपछि अब नेपाली टोलीले अनुभवलाई नतिजामा बदल्ने बेला आएको छ। २० टोलीको यो भिडन्तमा नेपालले केवल सहभागिता मात्र जनाउने छैन, विश्व क्रिकेटका हस्तीहरूलाई गतिलो चुनौती दिने अपेक्षा गरिएको छ।