पाकिस्तानलाई आइसीसीको चेतावनी :दूरगामी परिणाम निम्त्याउन सक्छ

सोमबार, माघ १९, २०८२

काठमाडौं :आगामी टी–२० विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयप्रति अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई चेतावनी दिएको छ।

आईसीसीले एक विज्ञप्ति जारी गर्दै पीसीबीबाट सबै सम्बन्धित पक्षको हित सुरक्षित हुने गरी आपसी सहमतिमा समाधान खोजिने अपेक्षा गरेको जनाएको छ। साथै, पाकिस्तानको निर्णयले दूरगामी परिणाम निम्त्याउन सक्ने चेतावनी पनि दिएको छ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेब्रुअरी ७ देखि सुरु हुने आईसीसी टी–२० विश्वकप २०२६ मार्च ८ सम्म चल्नेछ। प्रतियोगिताको तय तालिकाअनुसार फेब्रुअरी १५ मा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा तय गरिएको छ।

तर आइतबार पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत एक वक्तव्य जारी गर्दै उक्त दिन भारतविरुद्ध पाकिस्तान क्रिकेट टोली मैदानमा नउत्रने जानकारी दिएको थियो। यद्यपि, यस निर्णयको कारणबारे पाकिस्तान सरकारका तर्फबाट कुनै स्पष्ट कारण खुलाइएको छैन।

यो विवाद बंगलादेशले भारतको भूमिमा टी–२० विश्वकपको खेल खेल्न अस्वीकार गरेपछि सुरु भएको हो। त्यसपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाउँदै स्कटल्याण्डलाई समावेश गरेको थियो।

पाकिस्तानले बंगलादेशको समर्थन गर्दै सुरक्षा कारण देखाएर कुनै देशमा खेल्न अस्वीकार गर्ने अधिकार बंगलादेशलाई पनि हुनुपर्ने धारणा सार्वजनिक गरेको थियो।

यसको सन्दर्भ गत वर्ष पाकिस्तानमा आयोजना भएको च्याम्पियन्स ट्रफीसँग जोडिएको छ, जहाँ भारतीय क्रिकेट टोली पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि भारतका सबै खेल दुबईमा सारिएका थिए।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्