सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ :टी–२० विश्वकप २०२६ सुरु हुनुअघि न्युजिल्यान्डलाई ठूलो झट्का लागेको छ। दायाँहाते तीव्र बलर एडम मिल्ने चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। उनको स्थानमा काइल जेमिसनलाई टोलीमा समावेश गरिएको न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको छ।
दक्षिण अफ्रिका टी–२० लिग खेल्ने क्रममा मिल्नेको बायाँ ह्यामस्ट्रिङमा चोट लागेको हो। चोट गम्भीर भएपछि उनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ।
न्युजिल्यान्डका मुख्य प्रशिक्षक रोब वाल्टरले मिल्नेप्रति सहानुभूति व्यक्त गर्दै छिटो निको हुने कामना गरेका छन्। साथै, जेमिसन योग्य विकल्प भएको भन्दै उनको अनुभव र प्रदर्शनको प्रशंसा गरेका छन्।
भारतको ह्वाइट–बल टुरमा रहेका जेमिसन यसअघि विश्वकप टोलीमा रिजर्भ खेलाडीका रूपमा रहेका थिए। ३१ वर्षीय जेमिसनले न्युजिल्यान्डका लागि २४ टी–२० खेलमा २३ विकेट लिएका छन्।
न्युजिल्यान्ड विश्वकपको समूह ‘डी’ मा परेको छ, जहाँ दक्षिण अफ्रिका, अफगानिस्तान, युएई र क्यानडा पनि छन्। न्युजिल्यान्डले आफ्नो अभियान फेब्रुअरी ८ मा चेन्नईमा अफगानिस्तानविरुद्ध सुरु गर्नेछ।