युएईले भिषा नदिँदा नेपाली खेलाडी रोकिए

वेस्ट इन्डिजसँगको श्रृंखला अन्यौलमा 
शुक्रबार, असोज ३, २०८२

काठमाडौं :नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएई यात्रा भिसा नआएपछि रोकिएको छ ।

दुईपटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग तीन खेलको टी–२० श्रृंखला खेल्न आज बिहान नेपाली टोली युएई प्रस्थान गर्ने कार्यतालिका भएपनि भिसा नआएपछि यात्रा स्थगित भएको हो ।नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली आज बिहानै युएई जाने तालिका थियो । त्यहि अनुसार टिकट पनि तयारी भइसकेको अवस्थामा भिसा नआएपछि नेपाली टोली यतै रोकिएको हो ।

सम्भवतः सोमबारसम्म नेपाली टोली युएई उड्ने छ ।

गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनपछि युएई सरकारले नेपालीलाई भिसामा कडाई गरेको हो । स्थानीय सञ्चारमाध्यममा भिसा कडाईको कारणका रूपमा जेन–जी आन्दोलनपछि कैदी फरार, सुरक्षा चुनौती, र गत वर्ष कतारमा भएको हमलासँग सम्बन्धित सुरक्षा जोखिम उल्लेख भइरहेका छन्।

नेपाली टोलीले आगामी सेप्टेम्बर २७, २९ र ३० मा युएईमा वेस्ट इन्डिजसँग खेल्ने कार्यक्रम तय गरेको छ। यस श्रृंखला मार्फत टोली आगामी अक्टोबर ८–१७ मा ओमानमा हुने आइसिसी टी–२० विश्वकप एसिया–प्यासिफिक रिजनल फाइनलको तयारी गर्दैछ ।

क्यानका अनुसार, यस चरणमा कुल ९ राष्ट्र खेल्नेछन् र त्यहाँबाट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्। नेपाली टोलीले यस अवसरमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्