सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र आक्रामक ब्याटर फखर जमान पूर्ण रूपमा अनफिट हुँदाहुँदै पनि कसरी विश्वकपको मैदानमा उत्रिए? के यो जानाजानी गरिएको खेलवाड थियो? अहिले यही प्रश्नले पाकिस्तान क्रिकेट बोर्ड पीसिबीको जग हल्लाइदिएको छ।
टी ट्वान्टी विश्वकपपछि पाकिस्तान क्रिकेटमा यस महाविवादको मुख्य पात्र बनेका छन्— टिम फिजियो क्लिफ डिकन। आरोप छ कि, फिजियो डिकनले खेलाडीहरूसँगको सेटिङ र व्यक्तिगत सम्बन्धका कारण उनीहरू घाइते हुँदाहुँदै पनि फिट भएको झूटो रिपोर्ट बुझाए।
विश्वकपबाट बाहिरिएलगत्तै पिसिबीका मेडिकल डाइरेक्टर डा.जावेद मुगलले गरेको गोप्य जाँचमा सनसनीपूर्ण खुलासा भएको हो। बाबर र फखर १०० प्रतिशत फिट नै थिएनन् ।
पाकिस्तानका दिग्गज क्रिकेटर तथा वर्तमान छनोटकर्ता आकिब जावेदले बोर्डमा खैलाबैला मच्चाएका छन्। उनले सिधै प्रश्न गरेका छन्— "यदि यी खेलाडी फिट थिए भने विश्वकप सकिनेबित्तिकै कसरी फेरि घाइते भए?"
छनोट समितिले फिजियोको रिपोर्टलाई विश्वास गरेर टोली चयन गरेको तर फिजियोले बोर्ड र देशलाई नै धोका दिएको भन्दै अहिले कडा कारबाहीको माग गरिएको छ। बाबर आजम गम्भीर ह्यामस्ट्रिङ समस्याका बाबजुद मैदानमा उत्रिएका थिए। जसका कारण उनको ब्याटिङमा पहिलो जस्तो चमक देखिएन। फखर जमानपनि लामो समयदेखिको चोट लुकाएर खेलिरहेका थिए। यसको नतिजा स्वरूप बंगलादेशविरुद्धको पछिल्लो शृङ्खलामा दुवैलाई आराम दिनुपर्यो र पाकिस्तानले लज्जास्पद हार बेहोर्नु पर्यो।
बाबर आजम अहिले नेशनल क्रिकेट एकेडेमीमा आफ्नो गल्ती सुधार्न रिह्याब गरिरहेका छन्। उनी २६ मार्चदेखि हुने पीसिएलमा पेशावर जाल्मीको कप्तानी गर्दै मैदान फर्कने दाउमा छन्। तर, केही खेलका लागि देशको साख दाउमा राख्ने यी खेलाडी र मेडिकल टिममाथि अब के होला? यदि छानबिनमा फिजियो दोषी पाइएमा उनको करियर समाप्त हुन सक्छ। के पाकिस्तान क्रिकेट यो कपटबाट बाहिर निस्कन सक्ला?