सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :आउदो शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका लागि सुजन थपलियाको कप्तानीमा कोशी प्रदेशको टोलीको घोषणा गरिएको छ ।
कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीत पाण्डेका अनुसार आज थपलियाको कप्तानीमा १५ खेलाडी, प्रशिक्षक, टोली ब्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा भएको हो । यस प्रतियोगिताका लागि अंकित सुवेदीलाई कप्तानीबाट विश्राम दिदैं झापाका सुजन थपलियालाई कप्तानीको जिम्मेवारी दिइएको उनले बताए ।
झापाबाट ६, मोरङबाट ४, उदयपुरबाट ३, सुनसरी र इलामबाट समान १ जना खेलाडीले टोलीमा सहभागिता जनाउने बताएका अध्यक्ष पाण्डेले थपलियाको कप्तानीमा टोलीले सुखद नतिजा दिने अपेक्षा गरेकाछन् ।
प्रतियोगिताका लागि प्रशिक्षकको जिम्मेवारी राजकुमार प्रधानले गर्ने भएकाछन् । त्यसैगरि, ब्यवस्थापकमा शशिशेखर झा र फिजियो विपिन भट्टाराई जिम्मेवारी दिइएको छ । टोलीमा मोरङबाट उपकप्तानमा शाकिब हक, फिर्दोष अन्सारी, दिपेश कंडेल, प्रेम कामत रहेकाछन् भने झापाबाट थपलिया बाहेक समिर कार्की, अंकित सुबेदी, ज्ञमनेन्द्र श्रेष्ठ, आशिक राना मगर र विपिन महतो, सुनसरीबाट रोहन साह, इलामबाट शिवांस बजगाई तथा उदयपुरबाट सोनु अन्सारी, प्रभात किरण हाङखिम र सुमन श्रेष्ठ चयन भएका छन् । बागमती र मधेश प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले ९ वटा खेल खेल्नेछ । कुल ४६ वटा खेल हुने प्रतियोगिताको उपाधि भिडन्त बैशाख ४ गते वीरगञ्जमा हुनेछ ।
प्रतियोगितामा सातप्रदेशसंगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।