T10 T10

पाकिस्तानी लिग छाडेर आइपिएलमा गएपछि जिम्बाब्वेका मुजारबानीमाथि कार्बाहीको तयारी

शनिबार, फागुन ३०, २०८२
Global

काठमाडौँ :जिम्बाब्वेका तीव्र गतिका बलर ब्लेसिङ मुजारबानीका विरुद्ध पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) कडा रूपमा प्रस्तुत हुने देखिएको छ। पछिल्लो रिपोर्ट अनुसार, पीसीबीले मुजारबानीमाथि कानुनी कारबाही गर्ने विषयमा गम्भीर विचार गरिरहेको छ।

के हो विवादको कारण?
मुजारबानीले अन्तिम समयमा पाकिस्तान सुपर लिग (पीएसएल) बाट आफ्नो नाम फिर्ता लिएर इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने निर्णय गरेका थिए। उनलाई आईपीएल टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले मुस्तफिजुर रहमानको स्थानमा आफ्नो टोलीमा आबद्ध गरेको छ।

सम्झौता उल्लंघनको आरोप
पीएसएलको ड्राफ्टमा मुजारबानीलाई इस्लामाबाद युनाइटेडले करिब १ करोड १० लाख पाकिस्तानी रुपैयाँमा अनुबन्ध गरेको थियो। तर, भारतीय फ्रेन्चाइज टोलीबाट प्रस्ताव आएपछि उनले पीएसएल छाडेर आईपीएल रोजेका हुन्।

सम्झौता भइसकेपछि अन्तिम समयमा नाम फिर्ता लिएर अनुशासन र अनुबन्ध उल्लंघन गरेको भन्दै २९ वर्षीय यी बलरमाथि पीसीबीले कानुनी प्रक्रिया अगाडि बढाउन खोजेको हो। दुवै लिगको समय जुधेका बेला खेलाडीले आईपीएल रोजेको यो पहिलो घटना भने होइन।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्