सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी गरे पनि क्लब दर्ता प्रक्रियामा नयाँ अन्योल देखिएको छ। सामान्यतया १४ क्लब सहभागी हुने लिगका लागि एन्फाले हाल १३ वटा क्लबलाई मात्र टिम दर्ताका लागि पत्राचार गरेको छ।
एपीएफ फुटबल क्लब र थ्री स्टार क्लबमध्ये कसलाई ‘ए’ डिभिजनको मान्यता दिने भन्ने कानुनी विवाद नटुङ्गिएका कारण १३ क्लबलाई मात्र खेलाडी र पदाधिकारी दर्ताका लागि पत्र पठाइएको हो। एन्फा महासचिव किरण राईको हस्ताक्षरमा पठाइएको सो संयुक्त पत्रमा हाल राष्ट्रिय लिग खेलिरहेको एपीएफ र अदालतबाट ‘ए’ डिभिजनको मान्यता पाएको थ्री स्टार दुवैलाई समावेश गरिएको छैन।
यसअघि एन्फाले एपीएफलाई ‘ए’ डिभिजनमा राख्दै थ्री स्टारलाई ‘बी’ डिभिजनमा झारेपछि विवाद सुरु भएको थियो। उच्च अदालत पाटनले थ्री स्टारको पक्षमा फैसला सुनाउँदै उसलाई ‘ए’ डिभिजनकै मान्यता र मताधिकार दिनुपर्ने आदेश दिएको थियो।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार कानुनी सल्लाहकारको सुझाव पर्खिएकाले हाललाई विवादित क्लबबाहेक अन्यलाई मात्र फारम पठाइएको हो। यद्यपि, चैत ३० को उद्घाटनसम्म १४ वटै क्लबको सहभागिता सुनिश्चित हुने अपेक्षा एन्फाले राखेको छ।
लामो समयदेखि लिग हुन नसक्दा चर्को आलोचना खेपिरहेको एन्फाले नेपाल फुटबल खेलाडी संघको दबाबपछि चैत ३० मा उद्घाटन र २०८३ वैशाख २० देखि नियमित खेल सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो। तर, टिम दर्ताकै विषयमा अन्योल सिर्जना भएपछि निर्धारित समयमा लिग हुनेमा क्लबहरूले अझै शंका व्यक्त गरिरहेका छन्।