hERO hERO

एनपीएलको मिनी अक्सन आज

शनिबार, साउन २४, २०८२

काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि आज मिनी अक्सन हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो ३ बजेदेखि सुरु हुनेछ र यसको प्रत्यक्ष प्रसारण एनपीएलको आधिकारिक युट्युब च्यानलमार्फत हुनेछ।

यस अक्सनमार्फत विभिन्न आठ टोलीले बाँकी रहेका ३७ खेलाडी अनुबन्ध गर्नेछन्। गत सिजनका ५१ खेलाडीलाई टोलीहरूले पहिले नै रिटेन गरिसकेका छन्।

यो संस्करणका लागि ४५८ खेलाडीले नाम दर्ता गराएका थिए। क्यानको प्राविधिक टोली र टिमहरूको रोजाइअनुसार मापदण्ड पूरा गर्ने १५० खेलाडीको अन्तिम सूची तयार गरिएको हो। अक्सनपछि ११३ खेलाडी भने यसपटक एनपीएल खेल्नबाट वञ्चित हुनेछन्, जसले आजको अक्सनलाई झन् प्रतिस्पर्धात्मक बनाएको छ।

श्रेणी ‘ए’ मा सबैको नजर
खेलाडीहरूलाई अनुभव र प्रदर्शनका आधारमा तीन श्रेणीमा विभाजन गरिएको छ। सबैभन्दा चर्चित श्रेणी ‘ए’ मा ८ खेलाडी छन्, तर केवल ४ जनामात्र टोलीमा छनोट हुनेछन्। यस श्रेणीमा विकेटकिपर–ब्याट्सम्यान अर्जुन साउद र दिलिप नाथ, ब्याटर देव खनाल र शरद भेषावकर, अलराउन्डर पवन सर्राफ, सुनाम गौतम र मोहम्मद आदिल अन्सारी तथा बलर सूर्य तामाङ रहेका छन्।

मूल्य सीमा
श्रेणी ‘ए’ का खेलाडीको अधिकतम मूल्य १५ लाख रुपैयाँ तोकिएको छ। श्रेणी ‘बी’ का लागि यो सीमा १० लाख र श्रेणी ‘सी’ का लागि ५ लाख रुपैयाँ छ। आजको अक्सनबाट कुन खेलाडी कुन टोलीमा, कति मूल्यमा अनुबन्धित हुन्छन् भन्ने उत्कंठापूर्ण प्रतिक्षा क्रिकेटप्रेमीहरूले गरिरहेका छन्।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्