Dosa Dosa

अब लिभरपुलमा २० नम्बर जर्सी फेरि देखिने छैन

शुक्रबार, असार २०, २०८२

काठमाडौं :इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्झनामा उनको नम्बर २० जर्सी अवकाश गर्ने निर्णय गरेको छ।

अबदेखि लिभरपुलमा नम्बर २० जर्सी कहिल्यै प्रयोग हुने छैन।

क्लबले एक वक्तव्यमा भनेको छ,

‘२०२४–२५ सिजनमा क्लबलाई २०औँ प्रिमियर लिग उपाधि जिताउन सहयोग पुर्‍याएका जोटाको सम्मानमा यो निर्णय गरिएको हो।’

गत अप्रिलमा भएको मर्सीसाइड डर्बीमा जोटाले कोप स्ट्यान्ड अगाडि गरेको गोल नै उनको जीवनको अन्तिम गोल बनेको थियो। त्यो क्षण अहिले क्लब र समर्थकहरूका लागि एक भावुक स्मृति बनेको छ।

२८ वर्षीय जोटा र उनका भाइ, २६ वर्षीय आन्द्रे सिल्भा, दुबै जनाको स्पेनमा भएको सडक दुर्घटनामा मृत्यु भएको हो। घटनापछि फुटबल क्षेत्र नै शोकमा डुबेको छ।

गोन्डोमारदेखि एनफिल्डसम्मको यात्रा
जोटाले फुटबल यात्रा आफ्नो सानो सहर गोन्डोमारबाट सुरु गरेका थिए।उनको करियरको सुरुवात पासोस डे फेरेराको युथ एकेडेमीबाट भयो।
सन् २०१६ मा उनी एट्लेटिको मड्रिड पुगे, त्यसपछि पोर्टोमा लोन, फेरि वुल्भ्स हुँदै लिभरपुल आए।

लिभरपुलमा उनले एफए कप, लिग कप र अन्ततः २०२४/२५ को प्रिमियर लिग उपाधि जिते।पोर्चुगल राष्ट्रिय टिमका लागि पनि, जोटाले २०१९ र २०२५ को युएफा नेसन्स लिग जितेका थिए।

यो निर्णयसँगै, लिभरपुल इतिहासमा पहिलोपटक कुनै खेलाडीको सम्मानमा जर्सी नम्बर स्थायी रूपमा अवकाश गरिएको हो।

 जोटा लिभरपुलका लागि केवल खेलाडी मात्र होइन, एक प्रेरणा र स्मृतिका पात्र पनि बन्न पुगे।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्