सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
एन्फिल्ड: लिभरपुल सन् २०२२ पछि पहिलो पटक युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति आफ्नै मैदान एन्फिल्डमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा टर्किस क्लब गैलेटसारायलाई ४–० को भारी अन्तरले पराजित गर्दै लिभरपुलले अघिल्लो चरणको यात्रा सुरक्षित गरेको हो।
पहिलो लेगको खेलमा १–० ले पछि परेको लिभरपुलले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४–१ को नतिजा निकाल्न सफल भयो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको लिभरपुलका लागि डोमिनिक सोबोस्लाई, ह्युगो एकिटिके, रायन ग्राभेनबर्च र मोहम्मद सलाहले समान एक–एक गोल गरे।
यस ऐतिहासिक जितसँगै स्टार स्ट्राइकर मोहम्मद सलाहले व्यक्तिगत अर्को ठूलो सफलता हात पारेका छन्। सलाह च्याम्पियन्स लिगको इतिहासमा ५० गोल पूरा गर्ने पहिलो अफ्रिकी खेलाडी बनेका हुन्। खेलको ४५ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न चुके पनि सलाहले ६२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आफ्नो ५० औँ गोलको आँकडा पूरा गरे।
लिभरपुलले अब सेमिफाइनल प्रवेशका लागि साविक विजेता पेरिस सेन्ट जर्मेन (PSG) सँग प्रतिस्पर्धा गर्नेछ। यो जितसँगै लिभरपुलका समर्थकहरूमा उत्साह छाएको छ भने प्रशिक्षकले टोलीको पछिल्लो प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन्।