T10 T10

मेसीको ऐतिहासिक ९०० औँ गोल

तर इन्टर मियामी च्याम्पियन्स कपबाट बाहिर
बिहीबार, चैत ५, २०८२
Global

मियामी: अर्जेन्टिनी फुटबलका दिग्गज तथा इन्टर मियामीका कप्तान लियोनेल मेसीले आधिकारिक खेलहरूमा ९०० गोल पूरा गर्ने विश्वको दोस्रो पुरुष फुटबलरको कीर्तिमान बनाएका छन्।

कन्काकाफ च्याम्पियन्स कपको दोस्रो लेगमा नैशभिल एससी विरुद्ध गोल गर्दै मेसीले यो ऐतिहासिक सफलता हात पारेका हुन्।

यद्यपि, मेसीको यो व्यक्तिगत कीर्तिमानका बाबजुद इन्टर मियामी प्रतियोगिताबाट भने बाहिरिएको छ। मियामीको घरेलु मैदानमा भएको उक्त खेल १–१ को बराबरीमा टुङ्गिएपछि 'अवे गोल' नियमका आधारमा नैशभिल अर्को चरणमा प्रवेश गरेको हो। पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो लेगमा विपक्षीको मैदानमा गोल गर्न सफल भएको कारण नैशभिलले बाजी मारेको हो। मियामीका लागि मेसीले गोल गरे पनि नैशभिलका क्रिस्टियन एस्पिनोजाले बराबरी गोल फर्काएका थिए।

टोलीको हारपछि प्रशिक्षक जेभियर मस्केरानोले खेलको पूर्ण जिम्मेवारी लिएका छन्। उनले धेरै अवसरहरू सिर्जना भए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्नु नै हारको मुख्य कारण रहेको बताए। यता नैशभिलका प्रशिक्षक बीजे क्यालाघनले भने ९०० गोलको आँकडा पूरा गरेकोमा मेसीलाई बधाई दिँदै उनलाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी बताएका छन्।

मेसीले १ हजार १ सय ४२ खेलमा यो उपलब्धि हासिल गरेका हुन्।

यसअघि क्रिस्टियानो रोनाल्डोले ९०० गोलको आँकडा पार गरिसकेका छन्, जसको नाममा हाल ९६५ गोल रहेको छ। मेसीले आफ्नो व्यावसायिक करियरमा सबैभन्दा धेरै ६७२ गोल बार्सिलोनाका लागि गरेका छन् भने अर्जेन्टिनाका लागि ११५, इन्टर मियामीका लागि ८१ र पीएसजीका लागि ३२ गोल गरेका छन्। सन् २०१२ मा एकै वर्ष ९१ गोल गरेर विश्व कीर्तिमान कायम गरेका मेसीले सन् २०२५ को सिजनमा पनि गोल्डेन बुट र एमभीपी अवार्ड जितेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्