सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :गत शुक्रबार पाकिस्तान र बंगलादेशबीच भएको दोस्रो एकदिवसीय खेलमा पाकिस्तानले डकवर्थ लुइस पद्धतिका आधारमा १२८ रनको विशाल जित त दर्ता गर्यो, तर यो खेल जितभन्दा बढी सलमान आगाको रन आउट विवादका कारण चर्चामा रह्यो। यसै मामिलामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आचार संहिताको धारा २.२ उल्लंघन गरेको भन्दै सलमान आगालाई कडा सजाय सुनाएको छ।
पाकिस्तानी पारीको ३९औँ ओभरमा बंगलादेशी कप्तान मेहदी हसन मिराजले सलमान आगालाई 'नन-स्ट्राइकिङ इन्ड' मा रन आउट गरेका थिए। मेहदी हसनको बलमा मोहम्मद रिजवानले प्रहार गर्दा बल बलरतिरै आयो र सोही क्रममा सलमान आगाको ब्याटमा ठोक्कियो। सलमान आफ्नो क्रिजभन्दा बाहिर थिए, तर उनी क्रिजमा फर्किनुको साटो बल उठाउन निहुरिए। ठ्याक्कै त्यही मौका छोपेर मेहदी हसनले बल स्टम्पमा प्रहार गरिदिए। सलमानले त्यहाँ बंगलादेशले खेल भावना देखाउनुपर्ने तर्क गरे पनि नियम अनुसार उनी आउट भए।
तर आईसीसीले उनलाई रन आउट भएकोमा नभई आउट भएपछि देखाएको व्यवहारका कारण सजाय दिएको हो। आउट भएपछि आक्रोशित बनेका सलमानले मैदानमै आफ्ना पञ्जा र क्रिकेट सामग्री भुइँमा पछारेका थिए। आईसीसीले एक विज्ञप्ति जारी गर्दै सलमान आगालाई खेल उपकरण वा ग्राउन्डका सामग्री फाल्ने सम्बन्धी आचार संहिताको दोषी ठहर गरेको छ। यस खराब व्यवहारका लागि उनलाई म्याच फीको ५० प्रतिशत जरिवाना र एक डिमेरिट अंक समेत दिइएको छ। सलमान आगाले पनि आफ्नो गल्ती स्वीकार गरिसकेका छन्, जसले गर्दा यस मामिलामा कुनै थप सुनुवाइको आवश्यकता परेन।