सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौ:- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने लिगहरूमा 'टुरिस्ट भिसा' मा आएका विदेशी खेलाडीहरू सुटुक्क मैदान छिर्ने गरेको तथ्य खुलेपछि अध्यागमन विभाग आक्रामक रूपमा प्रस्तुत भएको छ।
विभागले बिहीबार एक कडा प्रेस विज्ञप्ति जारी गर्दै एन्फालाई प्रस्ट चेतावनी दिएको छ— "नियम मिचेर विदेशी खेलाडी खेलाए, परिणाम भोग्न तयार हुनु।"
विभिन्न फुटबल क्लबहरूले भिजिट भिसामा नेपाल आएका विदेशी नागरिकहरूलाई व्यावसायिक खेलाडीका रूपमा मैदानमा उतारेको उजुरी विभागमा परेपछि यो कदम चालिएको हो। कानुनी रूपमा पर्यटक भिसामा आएका व्यक्तिले नेपालमा कुनै पनि आर्थिक लाभ लिने गरी काम वा खेल खेल्न पाउँदैनन्। अध्यागमन विभागले अबदेखि कुनै पनि विदेशी खेलाडीलाई मैदानमा उतार्नुअघि सम्बन्धित निकायबाट काम गर्ने पूर्व अनुमति,श्रम विभागबाट आधिकारिक अनुमति, पर्यटक भिसालाई 'वर्किङ भिसा' मा परिणत गरेको हुनुपर्ने प्रक्रिया अनिवार्य पुरा गर्न निर्देशन दिएको छ।
विभागले आजैका मितिदेखि रङ्गशाला र खेल मैदानहरूमा छड्के अनुगमन सुरु गरिसकेको जनाएको छ। यदि कुनै पनि क्लबले नियम विपरीत विदेशी खेलाडी खेलाएको पाइएमा खेलाडीलाई तत्काल खेलबाट हटाइने, भिसाको उद्देश्य विपरीत कार्य गरेको ठहर गर्दै देश निकाला सम्मको कारबाही हुने, सम्बन्धित क्लब र एन्फा समेत कानुनी घेरामा आउन सक्ने भनेको छ ।