T10 T10

च्याम्पियन्स लिगमा एपीएफको पहिलो भिडन्त अल नासरसँग

बिहीबार, असार १९, २०८२
Global

काठमाडौँ : नेपालको महिला लिग च्याम्पियन एपीएफ क्लबले आगामी एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा साउदी अरेबियाको शक्तिशाली टोली अल नासरसँग खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्ने भएको छ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार एपीएफ समूह 'बी' मा परेको छ, जहाँ साउदी क्लब अल नासरका अतिरिक्त उज्वेकिस्तानको पीएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स पनि छन्।

नेपालको प्रतिनिधित्व गर्दै एपीएफ लगातार दोस्रो पटक प्रतियोगिताको प्रारम्भिक चरणमा सहभागी हुँदैछ। अघिल्लो संस्करणमा एपीएफले नासाफ र मलेसियाको सबाहसँग खेल्दा उज्वेक टोलीसँग १–० को हार बेहोरेको थियो।

यसपटक प्रारम्भिक चरणमा जम्मा १९ टोली प्रतिस्पर्धामा छन्। तीमध्ये चार समूहमा चार–चार र एक समूहमा तीन टोली रहनेछन्। समूह विजेताहरू मात्रै मुख्य चरणमा प्रवेश पाउनेछन्।

मुख्य चरणमा भने कुल १२ टोली रहने छन् — जसमा हालसम्म ६ टोली निश्चित भइसकेका छन्। युएईबाट खेल्ने एक टोली अझै टुंगो लाग्न बाँकी छ। मुख्य चरणमा पुगेका टोलीहरूलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्