diwpawali diwpawali

अन्जली र सबिना भुटानी लिग थिम्पु सिटीमा अनुबन्धित

बुधबार, असार १८, २०८२

काठमाडौँ : नेपाली महिला फुटबलमा चम्किरहेका दुई प्रतिभाशाली खेलाडी अन्जली चन्द र सबिना चौधरीले भुटानी लिगमा आफ्नो यात्रा सुरु गरेका छन्। उनीहरू भुटानको प्रतिष्ठित क्लब थिम्पु सिटी फुटबल क्लबमा अनुबन्ध भएका हुन्।

मध्यक्षण क्षेत्र बलियो बनाउने मिडफिल्डर अन्जली चन्द र रक्षात्मक पंक्ति सम्हाल्ने डिफेन्डर सबिना चौधरीले २०२५ अक्टोबरसम्मको लागि सम्झौता गरेका छन्। अन्जलीका अनुसार, उनीहरू हालै लिगमा सहभागी हुन भुटान प्रस्थान गरिसकेका छन्।

राष्ट्रिय टिमबाट खेल्ने अवसर पाइसकेकी सबिनाले वाफ च्याम्पियनसिपमार्फत नेपालको तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन्। उनले इराकविरुद्धको खेलमा राष्ट्रिय टिमबाट आफ्नो पहिलो उपस्थिति जनाएकी थिइन्।

त्यस्तै, अन्जली चन्दले नेपाली यु-२० टिमबाट देशको प्रतिनिधित्व गरिसकेकी छन्। अनुभव र ऊर्जा दुबैले भरिपूर्ण यी खेलाडीहरू भुटानी लिगमा नेपाली फुटबलको प्रतिनिधित्व गर्दै छन्, जुन नेपाली फुटबलप्रेमीका लागि गौरवको विषय बनेको छ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्