सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आज नेपाली महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा लाओसमाथि ९–० को सानदार जित दर्ता गर्दै उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि विजय यात्रा कायम राख्ने योजनामा छ। लाओसमाथिको उक्त जित नेपालको १००औं अन्तर्राष्ट्रिय खेल पनि थियो, जसमा कप्तान सावित्रा भण्डारी साम्बाले चार गोल गर्दै कप्तानीको जिम्मेवारीलाई गोल वर्षासँगै सुरुआत गरेकी थिइन्।
त्यसै खेलमार्फत मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि राष्ट्रिय टिममा डेब्यु गरेका थिए। लाओसविरुद्धको जितपछि उनले टोलीको प्रदर्शनको प्रशंसा गर्दै आगामी खेलहरूमा पनि त्यही ऊर्जा देखिनुपर्ने बताएका छन्।
रणनीति र टोली संरचना पहिलो खेलमा नेपालले नियमित गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै अन्जना राना मगरलाई मौका दिएको थियो। त्यस्तै, सरस्वती हमाललाई पनि पहिलो रोजाइमै डेब्यु गराइएको थियो। प्रशिक्षक वाइल्डले टोली रोटेसनको रणनीति अपनाउँदै महत्वपूर्ण खेलका लागि खेलाडीहरूको परीक्षण गरिरहेका देखिन्छन्।
श्रीलंकाविरुद्धको खेलमा पनि उनले यस्तै रणनीति अपनाउने सम्भावना छ। प्रीति राई, रेखा पौडेल र पुजा रानाले पहिलो खेलको दोस्रो हाफमा मात्रै मैदान प्रवेश पाएका थिए।
अपराजित रेकर्ड र अंकतालिका महिला फुटबलमा नेपाल अहिलेसम्म श्रीलंकासँग अपराजित रहेको छ। दुई देशबीच भएका अघिल्ला ८ वटै खेल नेपालले जितेको छ। फिफा वरियतामा पनि नेपाल (१००औं स्थान) श्रीलंकाभन्दा (१५९औं स्थान) निकै अगाडि छ।
समूह एफमा नेपाल, श्रीलंका, उज्बेकिस्तान र लाओस रहेका छन्। यसै समूहको अघिल्लो खेलमा उज्बेकिस्तानले श्रीलंकालाई १०–० को फराकिलो अन्तरले हराइसकेको छ।
समूहको बलियो टोलीका रूपमा रहेको उज्बेकिस्तान (फिफा वरियतामा ५१औं स्थान) सँग नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन। त्यसैले, उज्बेकिस्तानविरुद्धको अन्तिम खेल निर्णायक हुनेछ।
लक्ष्य – एएफसी महिला एसियन कप समूह विजेता टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको टिकट सुनिश्चित गर्नेछ। साथै, यो प्रतियोगिता अन्य ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको ढोका पनि बन्नेछ।