dosa dosa
एएफसी महिला एसियन कप छनोट–२०२६

नेपाली महिला फुटबलटोली आज लाओससंग खेल्दै

शनिबार, असार १४, २०८२

काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा चार दशकको यात्रा पूरा गर्दै आइतबार एएफसी महिला एसियन कप छनोट–२०२६ अन्तर्गत लाओससँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको छ।

उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुने खेल नेपाली टोलीका लागि सुखद सुरुवात गर्ने अवसर बन्ने अपेक्षा छ।

यस खेलले नेपाली महिला फुटबल टोलीका लागि ऐतिहासिक महत्व राख्छ किनभने यो टोलीको अन्तर्राष्ट्रिय एक सयौँ खेल पनि हो। साथै, प्रशिक्षक प्याट्रिक डे वाइल्डका लागि पनि यो डेब्यु खेल हुनेछ।

नेपाल समूह ‘एफ’ मा छ, जहाँ आयोजक उज्बेकिस्तान, लाओस र श्रीलङ्का रहेका छन्। शनिबार आयोजित कन्फरेन्समा प्रशिक्षक डे वाइल्डले टोली शारीरिक र मानसिक रूपमा राम्रो तयारीमा रहेको बताए। उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा उच्चस्तरीय प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो र त्यसका लागि हामी तयार छौं।”

लाओसका प्रशिक्षकले पनि आफ्नो टोलीको मनोबल उच्च रहेको र नेपालसँग राम्रो प्रतिस्पर्धा गर्ने दावी गरे। फिफा वरियतामा नेपाल १०० औं र लाओस १०७ औं स्थानमा रहेको छ।

नेपाली टोली बुधबार उज्बेकिस्तान पुगेको थियो र बिहीबारदेखि ३० डिग्री सेल्सियस तापक्रममा अन्तिम अभ्यास गर्दै आगामी खेलका लागि तयारी गरेको छ।

नेपालले लाओससँगको खेलपछि दोस्रो खेल जुलाई २ मा श्रीलङ्का र अन्तिम खेल जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्नेछ। छनोट समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसिया कपको मुख्य चरणमा पुग्नेछ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्