dosa dosa
विश्वकप लिग-२

उत्कृष्ट बलिङमा नेपालले नेदरल्यान्डसलाई हरायाे

बुधबार, जेठ २८, २०८२

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्समाथि १६ रनको रोमाञ्चक जित निकालेको छ।

पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रनको योगफल बनाएको थियो। नेपालको इनिङलाई आरिफ शेखले मजबूती प्रदान गरे। उनले ८५ बलमा ७ चौका र २ छक्का सहित ८४ रनको महत्वपूर्ण पारी खेले। कप्तान रोहित पौडेल र भीम सार्कीले समान रूपमा ३५–३५ रन बनाए भने कुशल भुर्तेलले १८ र दिपेन्द्रसिंह ऐरीले १६ रनको योगदान गरे।

नेदरल्याण्ड्सका बलरहरूमध्ये पल भान मिकेरन सबैभन्दा सफल रहे। उनले १० ओभरमा ५८ रन खर्चेर ४ विकेट लिए। माइकल लेभिटले ३ विकेट र आर्यन दत्तले १ विकेट हात पारे।

२३७ रनको लक्ष्य पछ्याउन उत्रिएको नेदरल्याण्ड्स ४९.२ ओभरमा २२० रनमै समेटियो। वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३०, माइकल लेभिटले २७, काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रन बनाए।

नेपालका बलरहरू प्रभावशाली देखिए। सन्दीप लामिछाने र नन्दन यादवले समान ३–३ विकेट लिए। ललित राजवंशीले २ विकेट तथा करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।

यो पनि : बसिरको गल्तीले नेपाललाई १० रनको घाटा, नेदरल्याण्ड्सले पायो पेनाल्टी रन

यसअघि भएको खेलमा पनि नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो। चार खेलमध्ये तीन जितसहित नेपालले शृंखला सम्पन्न गरेको छ।

यस जितपछि नेपालले लिग २ मा १६ खेलमा १२ अंक जोडेको छ र तालिकाको सातौं स्थानमा रहेको छ। नेदरल्याण्ड्सले २३ खेलबाट २६ अंक जोडेको छ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०५:४९
प्रतिक्रिया दिनुहोस्