सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौंः नेपाली क्रिकेटका पोस्टर ब्वाई तथा जादुमयी स्पिनर सन्दीप लामिछाने अब बेल्जियमको मैदानमा आफ्नो फिरकीको जादु छर्न तयार भएका छन्।
पहिलो संस्करणको ईयू टी-२० बेल्जियम लिगका लागि सन्दीपलाई लिज रेड लायन्सले अनुबन्ध गरेको हो। लिज रेड लायन्सले सामाजिक सञ्जालमार्फत आधिकारिक रूपमा सन्दीपलाई आफ्नो टोलीमा भित्र्याएको घोषणा गरेको हो। यो टोली यसै पनि स्टार खेलाडीहरूले भरिएको छ। सन्दीपले अब मैदानमा विश्व क्रिकेटका हस्तीहरूसँग काँध मिलाउनेछन् । अस्ट्रेलियाका विष्फोटक ब्याटर क्रिस लिन, न्युजिल्यान्डका पूर्व अलराउन्डर कोरी एन्डरसन र पाकिस्तानका अनुभवी क्रिकेटर शोयब मल्लिकसँग सन्दीपले काँध मिलाउने भएका हुन् ।
सन्दीपका लागि अर्को खुसीको कुरा के छ भने, यो टोलीको मुख्य प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्व आक्रामक ओपनर हर्सल गिब्स रहेका छन्। गिब्स जस्ता भेट्रान खेलाडीको रणनीतिमा सन्दीपले बलिङ गर्नु नेपाली क्रिकेटका लागिसमेत गौरवको विषय हो। बेल्जियम क्रिकेट संघको आयोजनामा हुन लागेको यो ऐतिहासिक लिगमा जम्मा ६ वटा टोलीहरू बीच कडा प्रतिस्पर्धा हुनेछ। युरोपमा क्रिकेटको क्रेज बढाउन यो लिग कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
सन्दीपको उपस्थितिले लिगमा दक्षिण एसियाली फ्यानहरूको आकर्षण मात्र बढ्ने छैन, बरु युरोपेली ब्याटरहरूलाई उनको गुग्लीले निकै सास्ती दिने निश्चित छ।