dosa dosa

नेपालको ऐतिहासिक हार : लाओससँग पहिलो पटक पराजित

मंगलबार, जेठ २७, २०८२

काठमाडौँ :एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत भएको खेलमा नेपालले पहिलो पटक लाओससँग हार बेहोरेको छ।

मंगलबार लाओसको भिएन्तियानस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल २–१ गोलअन्तरले पराजित भयो।

खेलको १३औं मिनेटमै अनाउसोने छापान्याले कर्नरमार्फत हेडर गोल गर्दै लाओसलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफसम्म नेपालले गोल फर्काउन नसकेपछि लाओसले १–० को अग्रता कायम राख्यो।

दोस्रो हाफको ४९औं मिनेटमा पिटर फान्थाभोङ्गले अर्को गोल गर्दै लाओसको अग्रता २–० मा पुर्‍याए। नेपालले ७१औं मिनेटमा पाएको पेनाल्टीमा मनिष डाँगीले गोल गर्दै अन्तर घटाए। तर बाँकी समयमा बराबरी गोल गर्न नसक्दा नेपालले २–१ को हार भोग्नुपर्‍यो।

यो हार नेपालको एसियन कप छनोट चरणमा लगातार दोस्रो हो। यसअघि मलेसियासँग २–० ले पराजित भएको थियो। लाओससँगको यो नेपालको सातौं प्रतिस्पर्धा हो। यसअघि नेपालले ३ खेल जितेको थियो भने ३ खेल बराबरीमा सकिएको थियो। यसरी लाओसले नेपालमाथि पहिलो जित हात पारेको हो।

यस खेलमा सृजन गौतमले राष्ट्रिय टोलीबाट डेब्यु गरे। उनी दोस्रो हाफमा योगेश गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए।

नेपालले छनोटअघि हङकङसँग मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो। प्रशिक्षक म्याट रसको प्रशिक्षणमा यो चौथो खेल हो, जसमा नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसियासँग हार र हङकङसँग बराबरी खेलेको थियो।

नेपाल रहेको समूहमा लाओस, मलेसिया र भियतनाम छन्। भियतनाम र मलेसिया वरियताका हिसाबले बलिया टोली मानिन्छन्। समूहका सबै टोलीले होम एन्ड अवे प्रणालीअनुसार ६ खेल खेल्नेछन्। समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा आयोजना हुने १९ औं एसियन कपमा स्थान बनाउनेछ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्