सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नेसन्स लिग फुटबलको उपाधि पोर्चुगलले जितेको छ। आइतबार म्युनिखमा सम्पन्न फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै पोर्चुगल विजयी भएको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो। पेनाल्टीमा पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले स्पेनका अल्भारो मोराटाको चौथो प्रहार रोक्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि रुबेन नेभेसले निर्णायक पाँचौं पेनाल्टीमा गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।
पेनाल्टीमा मोराटाको प्रहार मात्र असफल रह्यो भने बाँकी खेलाडीले सफलतापूर्वक गोल गरे।
खेलको ६१औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी १३८औं अन्तर्राष्ट्रिय गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याएका थिए। त्यसअघि स्पेनका मिकेल ओयार्जाबालले पेड्रीको पासमा ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।
खेलको सुरुआतमा स्पेनका मार्टिन जुबिमेन्डीले २१औं मिनेटमा पहिलो गोल गरेका थिए। तर पाँच मिनेटमै पोर्चुगलका नुनो मेन्डेसले उत्कृष्ट गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनी खेलको 'प्लेयर अफ द म्याच' घोषित भए। उनले रोनाल्डोको गोलमा पनि महत्त्वपूर्ण पास दिएका थिए।
८८औं मिनेटमा रोनाल्डो थकित हुँदै मैदानबाट बाहिरिए, जहाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई अँगालो हाले। यसअघि समूह चरणमा रोनाल्डोले पोर्चुगललाई २५ वर्षपछि जर्मनीमाथि पहिलो जित दिलाएका थिए।