hERO hERO

नेपाली टोलीलाई थप सशक्त बनाउँछु :मुख्य प्रशिक्षक प्याट्रिक

शुक्रबार, जेठ २३, २०८२

काठमाडौँ :राष्ट्रिय महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले नेपाली टोलीलाई थप सशक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज ललितपुरस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको स्वागत समारोहमा प्रशिक्षक वाइल्डले नेपाली टोलीलाई आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गराउने गरी प्रशिक्षण केन्द्रित गरिने बताएका हुन् । “फुटबलमा असम्भव केही हुँदैन,” उनले भने, “राम्रो तयारी भयो भने राम्रो नतिजा ल्याउन सकिन्छ। म यही विश्वासका साथ अघि बढ्छु।”
उनले एएफसी महिला एसियन कप २०२६ छनोटलाई प्राथमिकतामा राख्दै त्यसअनुरूप टोलीको तयारीमा जुट्ने जनाए। वाइल्डले नेपालमा रहँदा उत्कृष्ट प्रशिक्षकको भूमिकामा रहने विश्वास व्यक्त गरे।

एन्फा प्रवक्ता सुरेश शाहले वाइल्डसँग एक वर्षको सम्झौता गरिएको जानकारी दिँदै सिफारिस समितिको सल्लाहअनुसार नियुक्त गरिएको बताए। उनले प्रशिक्षकको आगमनसँगै महिला टोली थप सशक्त बन्दै जाने अपेक्षा व्यक्त गरे।
युइएफए प्रो–लाइसेन्स होल्डर वाइल्डले लाओसविरुद्धको खेलमार्फत नेपाली टोलीमा प्रशिक्षकको रूपमा डेब्यु गर्नेछन्। उक्त खेल यही जून २९ मा उज्बेकिस्तानमा हुनेछ।
नेपालले त्यसपछि श्रीलंका र घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ। समूहको विजेता टोलीले अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप २०२६ मा स्थान बनाउनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्