yt yt

बेल्जियमका प्याट्रिक महिला फुटबल टाेलीको मुख्य प्रशिक्षकमा नियुक्त

बिहीबार, जेठ २२, २०८२

काठमाडौं :अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेल्जियमका प्याट्रिक डे वाइल्डलाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

बिहीबार बिहान नेपाल आइपुगेका प्याट्रिकलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। एन्फाले उनीसँग एक वर्षको सम्झौता गरेको जनाएको छ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत प्याट्रिकलाई औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

यसअघि प्याट्रिक नेपाल सुपर लिग (NSL) अन्तर्गत काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। सो लिगमा काठमाडौं रेजर्स पाँचौं स्थानमा रहेको थियो।

प्याट्रिकले अब यही जुन महिनाको अन्त्यमा उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटमार्फत नेपाली टिमको जिम्मेवारी सम्हाल्नेछन्।

उनी नेपाली महिला टिमका दोस्रो विदेशी प्रशिक्षक तथा प्रो लाइसेन्स प्राप्त पहिलो विदेशी प्रशिक्षक हुन्। यसपटक एन्फाले महिला टिमका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक माग गर्दै आवेदन खुला गरेको थियो, जसमा २१ जना उम्मेदवार सहभागी थिए।

त्यसमध्ये भुटानको पूर्व प्रशिक्षक निकोला डेभाइन र प्याट्रिक डे वाइल्ड अन्तिम सूचीमा परेका थिए। छनोट समितिको सिफारिसमा प्याट्रिकलाई नियुक्त गरिएको हो।

यसअघि सन् २०१९ मा अष्ट्रेलियन ग्लेन फिलिप्स नेपाली महिला टिमको प्रशिक्षक नियुक्त भएका थिए। उनले पनि महिला एसियन कप छनोटमा टिमको नेतृत्व गरेका थिए, तर नेपाल छनोट हुन सकेन।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २२:३९
प्रतिक्रिया दिनुहोस्