सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: एकदिवसीय क्रिकेटमा सात महिनापछि पुनरागमन गर्न लागेको नेपाली राष्ट्रिय टोली आज स्कटल्याण्डसँग भिड्दैछ। विश्वकप लिग टु अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहभागी त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ।
नेपाली टोलीले सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग खेल्नेछ। खेल नेपाली समयअनुसार आज अपराह्न ३:४५ बजे सुरु हुनेछ। स्कटल्याण्ड पुगेको एक साता बितिसकेको नेपाली टोलीको असली परीक्षा अब सुरु हुन लागेको हो।
गत कार्तिकमा अमेरिका भ्रमणमा रहेको नेपालले त्यहाँ स्कटल्याण्ड र अमेरिका विरुद्ध ४ एकदिवसीय खेल खेलेको थियो। त्यसमध्ये १ खेल जितेको, १ खेल बराबरी गरेको र २ खेलमा हार व्यहोरेको थियो। त्यसयता नेपालले कुनै एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छैन।
लिग टु को वर्तमान अंक तालिकामा नेपालको अवस्था चिन्ताजनक छ। १२ खेलमा २ जितका साथ नेपाल ६ अंकसहित तालिकाको पुछारमा रहेको छ। स्कटल्याण्डले भने १६ खेलबाट २० अंक जोड्दै चौथो स्थानमा छ भने नेदरल्याण्ड्स २० खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ।
नेपालले यसअघि बेलायत भ्रमणमा ५ अभ्यास खेल खेलेको थियो जसमा सबै जित्दै उत्साहजनक तयारी गरेको थियो। तर, स्कटल्याण्ड ए विरुद्धका दुई अभ्यास खेलमध्ये एकमा पराजित हुँदा र अर्को वर्षाले अवरुद्ध हुँदा तयारीमा केही बाधा देखिएको छ।
यो पनि पढ्नुहोस् :नेपाललाई सहज छैन विश्वकप लिग–२ को यात्रा , तर असम्भव पनि हैन
नेपाली टोली यसपटक नयाँ प्रशिक्षक स्टुअर्ट ल का साथ मैदान उत्रिँदैछ। "हार्न मन पराउँदिन" भन्ने उद्घोष गरेका स्टुअर्टका लागि यो सिरिज असली परीक्षा हुने देखिएको छ। पूर्व प्रशिक्षक मोन्टी देशाईको बहिर्गमनपछि ल नियुक्त भएका हुन्।
टोलीको कप्तानी रोहित पौडेलले सम्हालेका छन् भने उपकप्तान दीपेन्द्र सिंह ऐरी छन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन्।
नेपालले स्कटल्याण्डसँग अहिलेसम्म ८ एकदिवसीय खेल खेल्दा ४ मा जित, ३ मा हार तथा १ खेल रद्द भएको छ। नेदरल्याण्ड्ससँग ५ खेलमा २ जित र ३ हार व्यहोरेको छ।
लिग टुमा नेपालले अझै २४ खेल खेल्न बाँकी छ। शीर्ष ४ मा पर्नका लागि आजको खेल जित्नु नेपालका लागि अत्यावश्यक छ। एकदिवसीय मान्यता जोगाउन र विश्वकप ग्लोबल छनोटमा पुग्न नेपालको लागि प्रत्येक खेल अब फाइनल सरह बनेको छ।