yt yt

नेपाललाई सहज छैन विश्वकप लिग–२ को यात्रा , तर असम्भव पनि हैन

बिहीबार, जेठ १५, २०८२

काठमाडौँ :सन् २०२७ को विश्वकप छनोटमा पुग्ने सपना बोकेर नेपालसहित आठ एसोसिएट राष्ट्रहरू लिग–२ मा प्रतिस्पर्धा गरिरहेका छन् ।

अहिले सम्म लगभग आधा प्रतियोगिता सकिँदा शीर्ष चारमा पुग्ने टोलीहरुको खाका देखिन थालिसकेको छ । शीर्ष चारमा पुग्ने टोलीले सिधै विश्वकपमा छनौट बनाउने छ भने बाँकी टोलीले प्लेअफ खेल्नुपर्ने छ । जारी प्रतियोगितामा लोभलाग्दो प्रदर्शन गरेको अमेरिकाले आफुलाई शीर्ष स्थानमा उभ्याएको छ । आज हामी लिग–२ मा प्रतिस्पर्धा गरिरहेका टोलीहरुको अबस्थाबारे तपाईँलाई जानकारी दिँदैछौँ ।
१. अमेरिका — (२० खेल, २८ अंक)
– कप्तान मोनांक पटेल (७४६ रन, औसतः ४१.४४) र मिलिन्द कुमार (६८२ रन, औसतः ५२.४६) शानदार फर्ममा छन् ।
– सौरभ नेत्रवलकर (२७ विकेट), केन्जिगे (२७), हर्मीत सिंह (२२) ले बलिङमा आक्रामकता देखाइरहेका छन्।
– इतिहासमै पहिलोपटक १२२ रन रक्षा गरेर ओमानमाथि जित दर्ता गरेका छन्।

 २. नेदरल्यान्ड्स — (२० खेल, २६ अंक)
– घरेलु मैदानमा बलियो र विदेशमा पनि अंक बटुल्न सफल।
– काइल क्लेन (३२ विकेट, औसतः १५.८१) र पाउल भान मिकेरेन (२८ विकेट) बलिङमा चम्किएका छन्।
– ब्याटिङतर्फ म्याक्स ओ’डाउडको ६६८ रन योगदान।
३. ओमान — (२० खेल, २४ अंक)
– नयाँ कप्तान जतिन्दर सिंहको कप्तानीमा उत्कृष्ट पुनरागमन।
– शकील अहमद प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी (३९ विकेट, औसतः ११.१५)।
– अमेरिकामाथि सुपर ओभरमा जितले उत्साह थपेको छ।

४. स्कटल्यान्ड — (१६ खेल, २० अंक)
– ढिलो सुरुवात गरे पनि पछिल्ला ११ खेलमध्ये ८ जित।
– मुनसी (औसतः ६०+), बेरिङ्टन, म्याकमुलनको ब्याटिङ आक्रमण।
– चार्ली क्यासेलले डेब्युमा ७ विकेट (७÷२१) लिएर कीर्तिमान बनाए।

५. क्यानडा — (२० खेल, २० अंक)
– सुरुवात राम्रो भए पनि अहिले फर्ममा गिरावट।
– थाकर र पर्गत सिंहमाथि निर्भरता।
– हेलीगर (३५ विकेट) र सना (३१ विकेट) बलिङमा स्थिरता देखाएका छन्।

 ६. नामिबिया — (२० खेल, १४ अंक)
– केवल ७ जित, स्थायी टोली चयनमा संघर्ष।
– स्पिनर स्कोल्ट्ज र कप्तान एरास्मस बलिङमा सफल।
– ब्याटिङतर्फ ठोस संयोजनको खाँचो।
 ७. युएई — (१६ खेल, ६ अंक)
– १३ हार, केवल ३ जित।
– कप्तान राहुल चोप्राको उत्कृष्ट ब्याटिङ प्रदर्शन।
– युवा स्पिनर सिमरनजित सिंहको उदय।
– नेपाल र अमेरिकासँगको आगामी सिरिज निर्णायक।
८. नेपाल — (१२ खेल, ६ अंक)
– केवल २ जित, ८ हार र २ वर्षा प्रभावित खेल।
– अझै ८ खेल बाँकी, पुनरागमनको सम्भावना । 
– नयाँ प्रशिक्षक स्टुअर्ट ल अफको नेतृत्वमा नयाँ ऊर्जा।
– आगामी सिरिज जुन २ देखि स्कटल्यान्डमा नेदरल्यान्ड्सविरुद्ध सुरू हुँदैछ।
किन सम्भव छ नेपालको पुनरागमन?
विगतको इतिहाा हेर्ने हो भने (२०२३ मा) नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर शीर्ष ४ मा स्थान बनाएको थियो ।

यस्तो पुनरागमन आज पनि सम्भव छ । नेपालले बाँकी ८ मध्ये कम्तीमा ६ खेल जित्नैपर्ने अवस्था छ । नेपालले हरेक खेललाई अब  एउटा ‘फाइनल’ खेलको रुपमा लिनुपर्नेछ । नेपाली क्रिकेटको नयाँ पुनरुत्थानको कथा लेख्ने यही मौका हो ।

मुख्य प्रशिक्षक स्टुअर्ट ल को आगमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ । अनुभवी प्रशिक्षकको योजना र रणनीतिले नेपालको लय फर्काउने विश्वास छ । कप्तान रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी लगायतका खेलाडीहरू आफ्नो क्षमतामा छन् । यदि सही संयोजन मिल्यो भने, कुनै पनि टोलीलाई हराउने क्षमतामा नेपाल सक्षम छ ।
“सपना देख्नु अपराध होइन, हार मान्नु अपराध हो।“
नेपाल क्रिकेटलाई फेरि एकपटक गर्विलो लयमा ल्याउन, तपाईंहरूको हौसला, समर्थन र विश्वास अत्यावश्यक छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्