yt yt

पेरिसमा पिएसजी समर्थक र प्रहरीबीच झडप, करिब ३०० पक्राउ

आइतबार, जेठ १८, २०८२

पेरिस : फ्रान्सको राजधानी पेरिसमा पेरिस सेन्ट-जर्मेन क्लबले युरोपको शीर्ष फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेपछि भएको विजय उत्सवले उग्र रूप लिँदा प्रहरी र समर्थकबीच झडप भएको छ।

झडपका क्रममा करिब ३०० जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये धेरैजसो व्यक्तिहरूलाई पटाका राखेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको र सवारीसाधनमा आगजनी गरेको आरोप लागेको छ।

५० हजार समर्थकको भीड
पेरिस सेन्ट-जर्मेन क्लबको ऐतिहासिक जितको खुसी मनाउन झन्डै ५०,००० समर्थकहरू पार्क दे प्रिन्सेस रंगशाला र च्याम्प्स-एलिसेस क्षेत्रमा भेला भएका थिए। ठूला पर्दामार्फत खेल हेरेपछि समर्थकहरूले सडकमा निस्किएर उत्सव मनाएका थिए।

तर, उत्सव केही समयमै अराजक प्रदर्शनमा परिणत भयो। स्थिति नियन्त्रणमा लिन प्रहरी प्रशासनले ५,४०० भन्दा बढी प्रहरी बल तैनाथ गरेको थियो।

अश्रुग्यास र पानीको फोहरा प्रयोग
झडप बढेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर भिड नियन्त्रणमा लिएको थियो। केही स्थानमा भिडले बस स्टपहरू तोडफोड गरेको र गाडीहरूमा आगो लगाएको पुष्टि भएको छ।

पेरिस सेन्ट-जर्मेनको ऐतिहासिक जित
पेरिस सेन्ट-जर्मेन क्लबले यसपटक पहिलोपटक युरोपको सबैभन्दा ठूलो ट्रफी च्याम्पियन्स लिग उपाधि जितेको हो। यस ऐतिहासिक जितले फ्रान्सभर खुशीको माहोल सिर्जना गरेको छ।

राष्ट्रपतिको बधाई
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले क्लबलाई बधाई दिँदै भने —
“बधाई छ, हामी तपाईंमाथि गर्व गर्छौं। आज पेरिस युरोपको राजधानी हो।”

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्