diwpawali diwpawali

महिला फुटबलको मुख्य प्रशिक्षक बन्न २२ जनाको आवेदन, चार जना महिला

बुधबार, जेठ १४, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक बन्न २२ जनाले आवेदन दिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले माग गरेअनुसार प्रो–लाइसेन्स प्राप्त प्रशिक्षकहरूले आवेदन दिएका हुन्।

एन्फा स्रोतका अनुसार आवेदन दिने प्रशिक्षकमध्ये चार जना महिला छन्। उनीहरूबीच एएफसी ए, यूईएफए ए, यूईएफए प्रो, एएफसी प्रोजस्ता विभिन्न उच्चस्तरीय लाइसेन्स प्राप्त प्रशिक्षकहरू छन्।

भारतसहित स्पेन, इटाली, अस्ट्रेलिया, पोल्यान्ड, सर्विया, ब्राजिल, अमेरिका, क्रोएसिया, ग्रिस, क्यानडा, इरान र बेल्जियमजस्ता देशका प्रशिक्षकहरूले आवेदन दिएका छन्। तीमध्ये केही प्रशिक्षक नेपाल सुपर लिग (NSL) मा समेत संलग्न भइसकेका छन्।

एन्फाले मुख्य प्रशिक्षकको चयन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। स्रोतका अनुसार एन्फाले सुरुवाती चरणमा विदेशी प्रशिक्षकसँग एक वर्षको सम्झौता गर्ने तयारी गरेको छ।

गत वैशाख ८ गते एन्फाले महिला टोलीको मुख्य प्रशिक्षक र ‘पर्फमेन्स एनालिस्ट’का लागि आवेदन आह्वान गरेको थियो।

यसैबीच, नेपाली महिला टोली थाइल्यान्ड भ्रमणमा रहेको छ। टोलीले त्यहाँ एक अभ्यास र एक मैत्रीपूर्ण खेल खेल्नेछ। टोली फर्किएलगत्तै नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिने एन्फा महासचिव किरण राईले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्