सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत घरेलु टोली भारतले मंगलबार नेपालमाथि ऐतिहासिक जित निकाल्दै समूह चरणको आफ्नो यात्रा अपराजित रुपमा समाप्त गरेको छ।
गोल्डेन जुब्ली स्टेडियममा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भारतले नेपाललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै साफ यु–१९ प्रतियोगितामा नेपालविरुद्ध अहिलेसम्मकै ठूलो जित दर्ता गर्यो।
यसअघिका दुई भेटमा दुवै टोलीबीचको भिडन्त पेनाल्टी सुटआउटमा टुंगिएको थियो। सन् २०१५ मा काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा ५–४ ले हराउँदै उपाधि जितेको थियो। त्यसको आठ वर्षपछि, २०२३ मा त्रिपुरेश्वरको दशरथ रंगशालामा भारतले नेपालसँगको बदला लिँदै पेनाल्टीमा ३–२ को जित हात पार्दै उपाधि कब्जा गरेको थियो। ती दुवै खेल १–१ को बराबरीमा टुंगिएका थिए।
तर, यसपटक भने भारतले निर्धारित ९० मिनेटमै गोलको वर्षा गर्दै स्पष्ट जीत हासिल गर्यो। रोहिन सिंहले दुई गोल गर्दा ओमङ डोडुम र डानी मिथेईले एक–एक गोल गरे। नेपालले खेलको सुरुवाती २७ मिनेटसम्म राम्रो रक्षात्मक प्रदर्शन गर्दै भारतलाई रोक्न सफल भएको थियो। तर, त्यसपछि नेपाली डिफेन्समा आएको कमजोरीको भरमा भारतले चार गोल गर्न सफल भयो।
पहिलो गोल एमएस थोक्छुमको क्रसलाई विफल बनाउन खोज्दा नेपाली डिफेन्डर प्रशान्त मोक्तानको हेड बल पोस्टतर्फ गयो, जसको रिबाउन्डमा रोहिन सिंहले गोल गरे। दोस्रो गोल कप्तान राम थापाको ब्याक पासबाट आएको त्रुटिका कारण सम्भव भयो, जसमा डानीले बल खोस्दै ओमङलाई क्रस दिए र उनले सजिलै गोल गरे।
७६औं मिनेटमा रोहिनले आफ्नो व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरे भने, ८४औं मिनेटमा डानी मिथेईले रिबाउन्डमा गोल गर्दै भारतको जित सुनिश्चित गरे।
समूह चरणमा भारतले दुवै खेल जित्दै ६ अंकसहित शीर्ष स्थानमा रह्यो। यसअघि भारतले भुटानलाई ८–० ले हराएको थियो। अब भारतले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्सले बंगलादेश र भुटानसँग २–२ को बराबरी खेलेर अन्तिम चारमा स्थान बनाएको हो।
नेपालले भने समूह ‘ए’ विजेता बंगलादेशसँग सेमिफाइनल खेल्नेछ। बंगलादेशले भुटानलाई ३–० ले हराउँदै समूह विजेता बनेको थियो।