yt yt

शीर्ष स्थानको लक्ष्यसहित नेपाल र भारत भिड्दै

यु–१९ साफ च्याम्पियनसिप
मंगलबार, वैशाख ३०, २०८२

काठमाडौँ : यु–१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसंग प्रतिस्पर्धा गर्दैछ । यी दुई टोलीबीचको खेल खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

साफ यु–१९ च्याम्पियनसिपको समूह ‘बी’ अन्तर्गत तेस्रोपटक आमने–सामने हुँदा दुवै टोलीको ध्यान समूह विजेता बन्नेमा केन्द्रित हुनेछ।दुवै टोलीले पहिले नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्, तर समूह चरणको अन्तिम खेल समूह विजेता तय गर्ने निर्णायक बन्नेछ।

नेपाल भारतसँग हलुका नखेल्ने
नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठका अनुसार टोलीले बलियो प्रदर्शनलाई निरन्तरता दिन प्रयास गर्नेछ। “भारत र नेपालको टोलीबीच खासै ठूलो फरक छैन। दुवै टोली सेमिफाइनल पुगिसकेका छन्, तर हामी शीर्ष स्थानकै लागि खेल्नेछौं,” उनले बताए। नेपाल र भारत यसअघिका दुई संस्करणमा पनि आमनेसामने भएका थिए।

सन् २०१५स् सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि जितेको थियो। सन् २०२३स् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले बदला लिँदै पेनाल्टीमा ३–२ को जित निकाल्यो र उपाधि जित्यो।

दुई दाजुभाइ एउटै टोलीमा
उक्त खेलमा पेनाल्टी गुमाएका लछु थापाले यसपल्ट पनि टोलीमा स्थान बनाएका छन्। उनी यसपटक आफ्नै दाजु राम थापाको कप्तानीमा खेलिरहेका छन्। लछुले श्रीलंकाविरुद्धको ५–० को जितमा एक गोल गरेका थिए।

भारतको सानदार सुरुआत
भारतले प्रतियोगिताको पहिलो खेलमै श्रीलंकाविरुद्ध ८–० को फराकिलो जित निकाल्दै सशक्त सुरुआत गरेको छ। यो नतिजा साफ पुरुष उमेर समूहको अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो। भारतको लागि डेनी मैतेई मुख्य खतरा मानिन्छन्, जसले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका थिए।

चुनौती स्वीकार गर्दै नेपाल
नेपालका स्ट्राइकर सुजन डंगोलका अनुसार भारतविरुद्धको खेल सजिलो नहुनेछ, तर उपाधि जित्ने लक्ष्यसहित आएका कारण चुनौती चिर्न तयार छन्। “योपल्ट जसरी पनि भारतलाई हराउने लक्ष्य लिएका छौं,” उनले भने।

भारतलाई बराबरी पर्याप्त, नेपाललाई जित अनिवार्य
समूह विजेता बन्न भारतलाई गोलरहित बराबरी पनि पर्याप्त हुनेछ, तर नेपालले जित्नैपर्नेछ। भारतले नेपालभन्दा ४८ घन्टा बढी विश्राम पाएको छ, जुन खेलमा प्रभाव पार्न सक्छ।

प्रशिक्षक फर्नान्डिसको नेपालप्रति सम्मान
भारतका प्रशिक्षक बिबियानो फर्नान्डिसले नेपाललाई संगठित र प्रतिस्पर्धी टोलीको रूपमा हेर्छन्। “नेपालले श्रीलंकाविरुद्ध राम्रो खेलेको थियो र थुप्रै मौका सिर्जना गरेको थियो,” उनले बताए।

नेपालले पहिलो हाफमा थुप्रै मौका गुमाए पनि इन्जुरी समयमा सुजन डंगोलले ब्रेकथ्रु गोल गरेका थिए। दोस्रो हाफमा नेपालले फिनिसिङमा सुधार गर्दै थप ४ गोल गरेको थियो – ध्रुवेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाको गोल। फर्नान्डिस भन्छन्, “यस स्तरमा सबै टोली बलिया हुन्छन्। अन्ततः जीतको चाहना र मानसिकता नै निर्णायक बन्छ।”

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्