काठमाडौ : केलियन एमबाप्पेको ह्याट्रिकको बाबजुद रियल मड्रिड ला लिगाको एल क्लासिकोमा बार्सिलोनासँग ४–३ ले पराजित भएको छ। बार्सिलोनाका राफिन्हाले दुई गोल गर्दा एरिक गार्सिया र लामिन यामालले एक–एक गोल गरे। यस जितसँगै बार्सिलोनाले ला लिगा अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिड अब बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ। एमबाप्पेको धमाकेदार सुरुवात आइतबार बार्सिलोनाको लुइस कम्पनी ओलम्पिक रंगशालामा खेलिएको एल क्लासिकोमा रियल मड्रिडले आक्रामक सुरुवात गर्यो। खेलको पाँचौं मिनेटमा एमबाप्पेले पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। १४ औं मिनेटमा उनले पुनः गोल गरे र अग्रता दाेब्बर बनाए । बार्सिलोनाको पुनरागमन दुई गोलले पछि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो। १९ औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खाता खोले। त्यसपछि ३२ औं मिनेटमा लामिन यामालले गोल गर्दै खेल २–२ काे बराबरीमा पुर्याए । केही मिनेटमै बार्सिलोनाले लय समात्यो। ३४ औं र ४५ औं मिनेटमा राफिन्हाले लगातार दुई गोल गरे र टोलीलाई पहिलो हाफमा ४–२ को अग्रता दिलाए। दोस्रो हाफमा रक्षात्मक रणनीति दोस्रो हाफमा बार्सिलोनाले रक्षात्मक रणनीति अपनायो। मड्रिडले गोल फर्काउने प्रयास गरिरह्यो। एमबाप्पेले ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र स्कोर ४–३ भयो। तर बाँकी समय मड्रिडले थप गोल गर्न सकेन र बार्सिलोनाले खेल जित्यो। आँकडामा बार्सिलोनाको दबदबा खेलभर बार्सिलोनाले आफ्नो वर्चस्व देखायो। टोलीले २३ प्रहार गर्यो, जसमा ९ प्रहार सिधै लक्ष्यमा थिए। मड्रिडले ९ प्रहार मात्र गर्यो, तीमध्ये ५ मात्र लक्षित थिए। बार्सिलोनाले ६३५ बल नियन्त्रण राख्यो र ४७८ पास पूरा गर्यो। टोलीले १० कर्नर पायो भने मड्रिडले केवल २ कर्नर पाएको थियो। एमबाप्पेको ऐतिहासिक सिजन रियल मड्रिडमा सामेल भएको डेब्यू सिजनमै एमबाप्पे क्लबको सर्वाधिक गोलकर्ता बनेका छन्। उनले हालसम्म ३८ गोल गरिसकेका छन्। उनले इभान जामोरानोको डेब्यू सिजनमा ३७ गोलको कीर्तिमान तोडेका छन्। क्रिस्टियानो रोनाल्डोले आफ्नो पहिलो सिजनमा ३३ गोल गरेका थिए।