चेन्नईको दोस्रो जित,कोलकाता ३२ रनले पराजित

बुधबार, वैशाख २, २०८३
Global

काठमाडौं :इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले आफ्नो लय फर्किएको संकेत दिएको छ । मंगलबार राति घरेलु मैदान चेपौकमा भएको प्रतिस्पर्धामा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९२ रनको मजबुत योगफल खडा गरेको थियो । चेन्नईका लागि सन्जु सामसनले सर्वाधिक ४८ रनको योगदान दिए भने डेवाल्ड ब्रेभिसले ४१ र युवा ब्याटर आयुष म्हात्रेले ३८ रन जोडे । कोलकाताका बलर कार्तिक त्यागीले २ विकेट लिए पनि चेन्नईको रन गति रोक्न अन्य बलरहरू असफल देखिए ।

१९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो । कोलकाताका लागि रमनदीप सिंहले ३५, रोभमन पावेलले ३१ र अजिन्क्या रहानेले २८ रन बनाए पनि मध्यक्रमका अन्य ब्याटरहरू नटिक्दा टोलीले चौथो हार बेहोर्नु पर्यो ।

कोलकातालाई सस्तैमा रोक्ने क्रममा चेन्नईका स्पिनर नूर अहमदले घातक बलिङ गरे । उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र २१ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै, अंशुल कम्बोजले २ विकेट लिए भने खलील अहमद र अकिल होसेनको नाममा १–१ विकेट रह्यो ।

यस जितसँगै चेन्नई ५ खेलबाट ४ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ । यता, जारी सिजनमा अहिलेसम्म एक खेल पनि जित्न नसकेको कोलकाता ५ खेलमा १ अंकका साथ तालिकाको १० औँ अर्थात् पुछारमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०६:१३
प्रतिक्रिया दिनुहोस्