सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:काजकिस्तानको अल्माटीमा सम्पन्न 'फिडे वर्ल्ड स्कूल टिम चेस च्याम्पियनसिप' (एशियन स्टेज) मा नेपालकी निहाना श्रेष्ठले रजत पदक जितेकी छिन्। चौथो बोर्ड स्पर्धामा सहभागी उनले ७ खेलमा ५.५ अंक जोड्दै व्यक्तिगत विधामा यो सफलता प्राप्त गरेकी हुन्। निहानाले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तान र सिङ्गापुरका खेलाडीलाई हराइन् भने चीनसँग बराबरी र पाकिस्तानसँग हार बेहोरिन्।
टोलीगत प्रतिस्पर्धामा भने नेपाल २० औँ स्थानमा रह्यो। आठ चरणको खेलमा नेपालले ३ जीत, १ बराबरी र ४ हारका साथ कुल ७ अंक जोड्यो। नेपालको तर्फबाट ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाश शरन कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले प्रतिस्पर्धा गरेका थिए। १९ राष्ट्रका २६ टोली सहभागी यस प्रतियोगिताको एशियाली क्षेत्रबाट उज्बेकिस्तानको विज्डम स्कूल शीर्ष स्थानमा रहँदै डिसेम्बरमा हुने ग्रान्ड फाइनलका लागि छनोट भएको छ।
यसैबीच, फिडे र अन्तर्राष्ट्रिय स्कूल चेस महासंघले सन् २०२६ लाई "इयर अफ चेस इन स्कूल" घोषणा गरेका छन्। नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले निहाना जस्ता प्रतिभाको प्रोत्साहनका लागि अब विद्यालय स्तरमै चेस खेललाई प्राथमिकता दिनुपर्ने बताएका छन्।