मैदानमा अर्जुनको 'गाण्डीव' अवतार: गण्डकीको सानदार जित, लुम्बिनी स्तब्ध !

आइतबार, चैत २९, २०८२
Global

वीरगञ्ज:वीरगञ्जको क्रिकेट मैदानमा आइतबार एउटा यस्तो इनिङ देखियो, जहाँ ब्याटबाट निस्केको हरेक प्रहारले जितको नयाँ कथा लेखिरहेको थियो।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा युवा स्टार अर्जुन कुमाल चम्किएपछि गण्डकी प्रदेशले लुम्बिनीमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ। अर्जुनको जादुमयी ब्याटिङ अगाडि लुम्बिनीका बलरहरू निरिह सावित भए।
लुम्बिनीले प्रस्तुत गरेको २०७ रनको मध्यम लक्ष्यलाई गण्डकीले मात्र २ विकेट गुमाएर ४४.१ ओभरमा सहजै भेट्टायो। यस जितका मुख्य नायक रहे— अर्जुन कुमाल।  
उनले १३० बलमा १०३ रन जोड्दै नट आउट रहे । उनले १३ चौका र १ छक्का प्रहार गरे । यो जारी प्रतियोगितामा उनको व्यक्तिगत दोस्रो शतक हो ।
अर्जुनलाई साथ दिँदै सिब्रिन श्रेष्ठले ४३ रनको महत्वपूर्ण योगदान दिए, जसले गण्डकीको जितको बाटोलाई अझ फराकिलो बनायो।
टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोडेको थियो। लुम्बिनीका लागि सन्तोष यादव (८२ रन) र सलाहुद्दिन खान (६० रन) ले अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्हाल्ने कोसिस गरेका थिए। तर, गण्डकीका बलरहरूले उनीहरूको त्यो प्रयासमा पूर्णविराम लगाइदिए । 
विपिन खत्रीले ४ विकेट लिँदै लुम्बिनीको मध्यक्रम ध्वस्त पारे भने अमृत पौडेलको कसिलो स्पेलले ३ विकेट झारे ।
यो जितसँगै गण्डकीले ८ खेलबाट ७ अंक जोडेको छ। यद्यपि, रनरेटको आधारमा लुम्बिनी सातौं र गण्डकी आठौं स्थानमा रहेका छन्। अंक बराबर भए पनि यो जितले गण्डकीको आत्मविश्वासलाई भने सगरमाथा जत्तिकै उच्च बनाएको छ।
मैदानमा अर्जुनको त्यो सानदार शतक र विपिनको घातक बलिङले क्रिकेट प्रेमीहरूको मन मात्र जितेन, गण्डकीको क्रिकेटमा एउटा नयाँ आशाको दियो पनि बालेको छ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्