च्याम्पियन्स लिग: पीएसजी र एट्लेटिको मड्रिडको सहज जित

बिहीबार, चैत २६, २०८२
Global

पेरिस/बार्सिलोना : युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गत पहिलो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र स्पेनी टोली एट्लेटिको मड्रिड विजयी भएका छन्।

बुधबार राति भएको प्रतिस्पर्धामा साविक विजेता पीएसजीले इंग्लिस क्लब लिभरपुललाई २–० ले पराजित गर्यो। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीलाई जित दिलाउन डेसिरे डुए र ख्विचा क्वारत्स्खेलियाले १–१ गोल गरे। डुएले खेलको १२औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए भने क्वारत्स्खेलियाले ६६औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। खेलभर १७ प्रहार गरेको पीएसजी हाबी देखिँदा लिभरपुलले भने पोस्टको दिशामा एउटा पनि प्रहार गर्न सकेन।

अर्को खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा २–० ले स्तब्ध पार्यो। बार्सिलोनाका पाउ कुबार्सीले रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित भएको फाइदा एट्लेटिकोले उठायो। एट्लेटिकोका लागि जुलियन अल्भारेजले ४५औँ मिनेटमा फ्रिकिकमार्फत र अलेक्जेन्डर सोर्लोथले ७०औँ मिनेटमा गोल गरे।

यी दुवै खेलको दोस्रो लेग अप्रिल १६ मा हुनेछ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्